काठमाडौँ – नेपाल कम्यसनस्टि पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री केपी शर्माओलीले निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेकपा प्रचण्ड–माधव समूहको विरोधसभालाई सम्बोधन गर्दै नेपालले पार्टीमा केन्द्रीय समितिमा समेत बहुमत गुमाएपछि नेकपाको ओली समूह सत्ताको आडमा दबाब र धम्कीको सहारा लिइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘केपी ओली बहुमतको शासन मान्न तयार छन् ? यदि मान्न तयार छन् भने निर्वाचन आयोगले भनेको आधारमा जाने हो भने मार्चपास गराऔँ, ४४१ जना केन्द्रीय सदस्यमध्ये केपी ओलीको कतिजना उभिन्छन् ? उनले प्रश्न गर्दै भने, ‘सय जना पनि उभिन्नन् । हाम्रो पक्षमा ३ सय जना उभिएका छन् । ३ सय जनाको बहुमत हुन्छ कि सय जनाको ? त्यसकारण निर्वाचन आयोगले अन्यथा निर्वाचन गर्न पाउँदैन । निर्वाचन आयोगमा गएर केपी ओलीले धम्क्याइरहेका छन् ।’

उनले ओलीसमूहसँग केही हजार मान्छेमात्रै बाँकी रहेको बताए । उनले ओली समूहले गत माघ २३ गते नारायणहिटीमा गरेको प्रदर्शनमा भाडामा मान्छे ल्याउँदा पनि सभा सानो भएकाले सिंगै ओली समूह निराश भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘सिंगै ओली समूह निराश भएको छ । त्यसैले ऊ तर्कमा होइन धम्कीमा, छलफलमा होइन आदेश दिने कुरामा, बहुमतमा होइन आफ्नो अधिनायकवादी प्रवृत्तिमा उसलाई विश्वास हुन थालेको छ ।’ जनमतमा विश्वास भएको भए ओली समूहले पार्टीको बहुमतलाई मान्नुपर्ने उनले बताए ।

ओलीले नेकपाको आफू पहिलो अध्यक्ष हुँ भनेर आफूले आफैलाई ताज पहिर्‍याएर हिंडिरहेको बताउँदै नेपालले निर्वाचन आयोगले ओलीले भनेबमोजिम पत्याउन जरुरी नभएको बताए ।

‘दस्तावेज हेरे हुन्छ, सर्कुलर हेरे हुन्छ । निर्णय हेरे हुन्छ । विधान हेरे हुन्छ ।’ उनले भने, ‘त्यसमा पनि शंका छ भने ४४१ जनालाई बोलाएर एक–एक व्यक्तिको टाउको गन्दा पनि हुन्छ ।’

नेकपालमा प्रचण्ड–माधव र ओली समूह विभाजन भए पनि कुन समूह आधिकारिक हो र निर्वाचन चिन्ह सूर्य कसले पाउने भन्दै निर्वाचन आयोगमा बहस चलिरहेको छ । दुबै समूहले आफू आधिकारिक भएको र सूर्य चिन्ह पनि आफूले नै पाउनुपर्ने दाबी गर्दै आएका छन् ।