काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगिताको रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी मार्चमा ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक क्रिकेट सिरिज स्थिगित भएको छ ।


ADVERTISEMENT


कोरोनाको प्रभाव, लोमो क्यारेन्टिनको प्रावधान लगायतका कारणले सिरिज अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


नेपालले यही सिरिजका लागि भन्दै २१ खेलाडीहरुलाई सुरुवाती बन्दप्रशिक्षणका लागि बोलाएको छ । भर्खरै काठमाडौँमा सम्पन्न प्रधानमत्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर गरिएको बन्द प्रशिक्षण हिजो मात्रै सकिएको थियो ।

ओडीआई लिग–२ अन्तर्गत नेपालले पहिलो सिरिज गत वर्ष घरेलू मैदान त्रिवि क्रिकेट मैदानमा ओमान, अमेरिकासँग खेलेको छ । जसमा नेपालले ४ खेलमा २ जित हात पारेको थियो । त्यसपछि कोरोनाको प्रभाव फैलिए पछि नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रिन पाएको छैन ।

यस्तै सचिव प्याकुरेलका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले ओडी आई लिग–२ लिग अन्तर्गत अप्रिलका लागि तय भएको पपुवा न्यूगिनी, ओमान र स्कटल्याण्ड तथा मे का लागि तय भएको पपुवा न्यूगिनी, अमेरिका र नामिबियाबीचको त्रिकोणात्मक सिरिज पनि सोही कारण स्थगित गरेको छ ।

के हो ओडीआई लिग-२ ?

१३ औँ संस्करणको एकदिवसीय क्रिकेट विश्वकप सन् २०२३ मा भारतमा आयोजना हुँदैछ । उक्त विश्वकपको सुरुवाती छनोट प्रतियोगिता अन्तर्गत लिग–२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ ।

आइसिसीले सन् २०१९ देखि २०२३ सम्म चल्ने प्रतियोगितामा ७ वटा एकदिवसीय टिमबीच २१ वटा त्रिकोणीय सिरिज हुने तालिका सार्वजनिक गरेको थियो । तर कोरोना भाइरसका कारण तालिका प्रभावित बनेको छ ।

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन् । एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।

नेपालले हाल ४ खेलमा २ जितसहित ४ अंकका साथ छैटौँ स्थानमा रहेको छ । १० खेल खेलेको ओमान ८ जितसहित १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै ८ खेलमा सबैमा हार व्यहोर्दै अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।

नेपालले अझै ३२ वटा खेल खेल्न बाँकी नै रहेको छ ।