किरण पौड्याल, इलाम– पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घ आवद्ध सदस्यलाई प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ ? भन्ने विषयमा प्रशिक्षण दिइएको हो ।


ADVERTISEMENT


तालीमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगत पहारीले पर्यटन क्षेत्रमा व्यवसायी महिलाको योगदानको महत्वपूर्ण रहेको उल्लेख गरे । उनले विभिन्न जिम्मेवारी तथा भूमिकालाई व्यवस्थापन गर्ने कला महिलामा रहेको बताउँदै डिजिटल मार्केटिङ सम्बन्धी तालीमले थप ज्ञान हासिल गराउने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले समयको माग अनुसार प्रविधिको विकासमा ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले व्यवसायीले पनि यस सोसल साइटका माध्यमबाट व्यवसायको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले पर्यटन फराकिलो क्षेत्र भएकाले यसमा आवद्ध व्यवसायीमा प्रविधिको ज्ञान हुन जरुरी रहेको कुरा उल्लेख गरे । समय अनुसारको हरेक क्षेत्रका अब्बल राख्दै आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने उनको राय थियो ।

यस्तै, सङ्घका संस्थापक अध्यक्ष लक्की कार्कीले भने ‘ज्ञान र सीप हुने हो भने महिला हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल हुने’ धारणा राखेका थिए । उनले अरुमा निर्भर नभइ आफै सवल हुने सके महिलामाथि हुने हिंसा पनि कम हुने विश्वास व्यक्त समेत गरे ।

सङ्घका कार्यबाहक अध्यक्ष कमला गिरीले व्यावसायिक सफलता हासिल गर्नका लागि महिलाको दक्षता तथा क्षमता अभिवृद्धि आवश्यक रहेकाले तालीमको आयोजना गरिएको बताए । दुई दिने सो तालीममा प्रशिक्षक उज्जल पौडेले डिजिटल मार्केटिङका फाइदा र यसको प्रयोगको बारेमा प्रशिक्षण दिनुभएको महासचिव शोभा पाण्डेले जानकारी दिइन् ।

कार्यक्रमका संयोजक अनिता खड्काले संस्थाका गतिविधि र तालीमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा ७० महिलाको सहभागिता रहेको थियो । रासस