काठमाडौं – गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा.डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् ।


ADVERTISEMENT


नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् ।


ADVERTISEMENT

# # #


कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँच जना नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र वर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेको बताए । गीत लेखनबाट कृतिमान कायम गरेका डा.उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय भएको भनाई उनले उत्तः कार्यक्रममा राखे ।

अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । समकालीन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने पनि उनले बताए । आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको संगतमा रही उनहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । यो पुस्तक तन्नेरी मनहरुसंग सामिप्य रहेको र सबै पुस्ता एवम् बर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए ।

पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतीय पुरुषमा लेखिएको यो उपन्यास सम्बाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यास भित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए । यस्तै संगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यास भन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए । पुस्तक पढ्दा आफुलाई एउटा सफल चलचित्र हेरेको महसुस उनले सुनाए ।

गायक तथा संगीतकार सागर सरद अधिकारीले राम्रा गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए । पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दा आधा उमेरमा झरेर आख्यानकार डीआर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए । घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि उनले बताए ।

प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् । २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैया रहेको छ ।