सञ्जीतकुमार मण्डल, महोत्तरी– महोत्तरीमा यौनहिंसाका घटनामा पछिल्लो समय झन् वृद्वि हुन थालेको छ । विगत सात महिनाको अवधिमा मात्रै यहाँ  ४१ वटा यौन हिंसाका घटना दर्ता भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार, आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् ।


ADVERTISEMENT

# # #


महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना गरी जम्मा ४१ यौनहिंसाका घटना घटेको जानकारी दिए । उनका अनुसार, जबर्जस्ती करणीमा ४५ जना संलग्न छन् भने १० जबर्जस्ती करणी उद्योगमा १३ जना संलग्न छन् । यसरी जम्मा ५८ जनाले ४१ यौनहिंसाका घटना घटाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जबर्जस्ती करणीको घटनामा संलग्न ४५ मध्ये २२ जनालाई र जबर्जस्ती करणी उद्योगका घटनामा संलग्न १३ मध्ये आठ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । दुवैथरीका घटनामा २८ प्रतिवादी अझै फरार रहेका तथा उनीहरुको खोजतलास भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

यौनहिंसामा पर्ने अधिकांश महिला तथा युवायुवती २० वर्ष मुनिका र कोही कोही २४ वर्षसम्मको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यौनहिंसाका घटना घर, डेरा, होटल, टोल छिमेक, वन सबैतिर भएको तथ्याङ्कले देखाएको छ । यस सन्दर्भमा महिला अधिकारकर्मी रेखा झाले विगत केही दिनदेखि जिल्लामा अप्रत्याशित रुपमा यौनहिंसाका घटना बढ्दै गइरहेको बताइन् । जिल्लामा दिनानुदिन यौनहिंसाका घटना बढ्दै जानुमा विभिन्न कारण रहेको बताउँदै उनले यौनहिंसाजस्ता गतिविधिमा लागेका युवा तथा पुरुषलाई कडाभन्दा कडा कानूनी कारवाही गर्नुपर्ने बताइन् ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहयोगी रञ्जु बरालले आधुनिकताको नाउँमा भड्किलो पहिरन, अश्लिल गीत, आवश्यकताभन्दा बढी खुलापन र सीमा नाघेर गरिएको मानवता विपरितका क्रियाकलाप यौनहिंसाका कारक तत्व रहेको भन्दै यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही हुनुपर्ने बताउँछिन् ।

उनले यस्ता घटनामा संलग्न व्यक्तिलाई प्रहरी, प्रशासन तथा न्यायिक निकायका साथै समाजले पनि बिना पूर्वाग्रह शून्य सहनशीलता अपनाइ दण्ड र सजायको भागिदार बनाइनुपर्नेमा जोड दिइन् ।

कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय पनि महिला हिंसाका घटनामा वृद्धि भएको छ । यसबीचमा महिला घरेलु यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ ।

घटना प्रशस्त भए पनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने उजुरी थोरै परेका छन् । उजुरी गर्नेहरु पनि धेरैजसो सदरमुकाम आसपासका पीडित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘यस अवधिमा पतिबाट कुटपिटमा परेर हिंसा भोगिरहेका महिलाहरुको सङ्ख्या धेरै देखिएको छ; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहयोगी रञ्जु बरालले भनिन् ।

लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिंसा लुकाउन बाध्य भएको उनको भनाइ छ । स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रशासन र अदालतमा गएर उजुरी गर्ने वातावरण नहुँदा महिलाहरु हिंसा सहन बाध्य रहेको बताउँदै उनले थपिन्; ‘नजिकको प्रहरी युनिटमा समेत उजुरीपश्चात् छलफल गर्ने वातावरण छैन ।’

यस अवधिमा मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने खालको घरेलु हिंसाका घटना बढी देखिएको उनको दावी छ ।

सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने र शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिंसाका घटना गराउने गरेको प्रहरी उपरीक्षक केसीको भनाइ छ । यद्यपि जस्तोसुकै अवस्थामा पनि प्रहरी यस्ता घटना नियन्त्रणका लागि सजग रहेको उनले बताए । रासस