काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा आज आयोजित पत्रकारसँगको अन्तर्क्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरेका हुन् ।


ADVERTISEMENT


उक्त कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुझावको आवश्यकता रहेको कुरा प्रस्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


सरकारका प्रवक्ता गुरुङले दूरसञ्चारमा देखिएका समस्याका कारण पनि दुर्गम जिल्लाका पत्रकारले समस्या भोग्नुपरेको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उनले प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना रहेको समेत उल्लेख गरेका थिए ।

‘सबैलाई एउटै डालोमा राखेर हेर्नु हुदैन तर पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको छ । विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ, यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेला आएको छ; उनले भने ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पनि महासङ्घ सधैँभरि पत्रकारको अधिकारका निम्ति लड्दै आएको र आगामी दिनमा पनि लडिरहने प्रतिबद्वता व्यक्त गरेका छन् । विज्ञापन बोर्डका सदस्य बलराम थापाले प्रत्येक जिल्लाको सुझावका आधारमा लोककल्याणकारी विज्ञापनमा देखिएको समस्या समाधान गरिने बताए ।

महासङ्घ सप्तरीका अध्यक्ष जीतेन्द्र खड्गाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत पाइने रकम जिल्लाबाटै भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने माग गरे । त्यस्तै, महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले पनि सङ्घ, प्रदेश र स्थानीय सबै निकायमा सञ्चारमाध्यम दर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

यसैगरि, महासङ्घ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माको पत्रकारिता अध्ययन गर्न चाहने पत्रकारका लागि छात्रवृत्तिको माग रहेको थियो भने, महासङ्घका सचिव शीतलप्रसाद महतोले भने आमसञ्चारमाध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्नेमा जोड दिएका छन् । रासस