चितवन– प्रजातन्त्र दिवसका अवसरमा आज यहा झण्डोत्तोलन गरिएको छ । भरतपुर महानगरपालिका–२ आँपटारी चोकमा नेपालको नयाँ झण्डा राखी झण्डोत्तोलनसमेत गरिएको हो ।


ADVERTISEMENT


प्रजातन्त्र दिवस जिल्ला समारोह समिति चितवनको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा झण्डोत्तोलन गरेका थिए ।


ADVERTISEMENT

# # #


भरतपुरको मुख्य बजार र सरकारी कार्यालय क्षेत्र प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण यस ठाउँमा झण्डा राखिएको हो । यहाँबाट पवित्र तीर्थस्थल देवघाट पनि प्रवेश गर्न सकिन्छ ।

सडकको बीचमा बनाइएको गोलो भागमा झण्डा राखिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रजातन्त्रको दिवसको महत्वका विषयमा प्रकाश पारेका थिए । सो ठाउँलाई थप सुन्दर बनाइँदै छ । नारायणगढ मुग्लिन सडकखण्डको विस्तारका क्रममा आँपटारीमा सडकको बिचमा गोलो ठाउँ छाडिएको थियो ।

नेपालमा प्रजातन्त्र दिवस विसं २००७ को क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहाँनीया राणा शासन अत्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइन्छ ।

यस्तै, भरतपुर अस्पतालमा रहेका बिरामीलाई फलफूल एवं जुस वितरण गरिएको छ भने सहयोगापेक्षी सडक मानवको अभिभावक मानव सेवा आश्रममा आश्रित व्यक्तिलाई खाना खुवाई राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । रासस