– सरिता हुमागाईं


ADVERTISEMENT


मानव सभ्यता इतिहासको विकासक्रमसँगै रुखको बोक्रा र सेउला आदिबाट शरिर ढाक्न, ढुंगा घोटेर आगो बालेर काँचो मासु र कन्दमूल पोलेर खान सिक्दै आएको मानव जीवनले विस्तारै विचार सम्प्रेषण गर्ने माध्यम खोज्न थाल्यो । प्राचीन समयमा कागज, मसी र पुस्तकको सुरुवात नभए पनि चित्र, संकेतद्वारा माटो, काठ, ढुंगा आदिमा आफ्ना भावना, विचार आदिलाई अभिव्यक्त गर्न थाल्यो ।


ADVERTISEMENT

# # #


यद्दपी त्यतिबेला मानव बसोबास घुमन्ते थियो । एकै ठाउँमा नबस्ने भएकाले ढुंगा, माटो, रुख आदिमा विचार अभिव्यक्त गर्दै कोरिएका, कुँदिएका सामग्री एक स्थानबाट अर्को स्थानमा जाँदा हराउने, नासिने डर थियो । त्यसैले ती सामग्रीहरु खोज्दा सजिलो होस् भनेर कुनाकन्धरामा लुकाउने गरेको इतिहास पढ्न पाइन्छ । यी सबैलाई आधार मानेर हेर्दा पुस्तकालयको सुरुवात मानव सभ्यताको विकाससँगसँगै भएको पाइन्छ । विचार अभिव्यक्त गर्ने माध्यमको रुपमा क्ले-ट्यावलेटदेखि सुरु भएको मानवको इतिहास आज  इ-ट्यावलेटको युगसम्म आइपुगेको छ।

नेपालको इतिहासलाई हेर्ने हो भने प्राचीनकाल र मध्यकालमा मठमन्दिर, विहार, गुम्वा, गुरु पुरोहितको घरमा ज्योतिष, धार्मिक विधि विधान, तन्त्र, सिकार, लडाइँ, जडिबुटी औषधी निर्माणका कुराहरु भोजपत्र, ताडपत्र, शिलालेख आदिमा कुँदेर, लेखेर संरक्षण गरेको पाइन्छ। मल्ल कालमा मल्ल राजाहरूले पुस्तकालयलाई ग्रन्थालय, ग्रन्थकुटी नाम राखी पुस्तक संकलन गर्ने गरेको पाइन्छ । आधुनिककालमा आइपुग्दा पृथ्वीनारायण शाहले उपत्यका विजय गरे पश्चात् देशका मुख्य दरवारहरु गोरखा, नुवाकोट, ललितपुर, भक्तपुरमा संग्रहित हस्तलिखित ग्रन्थहरु वसन्तपुरस्थित हनुमान ढोका दरबारको पूजा कोठामा राखेर राजकीय पुस्तकालय भनेको पाइन्छ । त्यसपश्चात् पृथ्वीनारायण शाहको पनाति राजा गीर्वाणयुद्ध विक्रम शाहले वि.सं. १८६९ भदौ १५ गते दरवारमा संकलित पुस्तकहरूलाई “इह चिताइ तहबिल” भनि लालमोहर लगाइ पण्डित केदारनाथ झालाई वार्षिक १२ रुपैयाँ तलबमा लाइब्रेरीयन पदमा नियुक्ति दिएको र लालमोहर अनुसार दुई जना टहलुवाको पनि ब्यबस्था गरी कानुनी मान्यता दिई पुस्तकालय सुरूवात् गरेको पाइन्छ ।

यसरी स्थापना भएको पुस्तकालयमा नियुक्ति भएकाहरुको काम नित्य पूजा आजा गर्नु, साँझमा बत्ती बाल्नु, पुस्तकादि ग्रन्थहरुलाई मुसा, किरा, ढुसी आदिबाट जोगाउनु थियो । वि.सं. १८६९ भदौ १५ गते नै पुस्तकालय सुरुवात् भएको कानुनी मान्यता पाएको दिन मानेर विगत केही वर्षदेखि राष्ट्रिय स्तरमा भदौ १५ मा पुस्तकालय दिवस मनाउने गरिएको छ।

यसरी प्राचीनकालदेखि मध्यकालसम्मको पुस्तकालयको इतिहास हेर्दा वर्तमानको परिभाषा र उपयोगिताको दृष्टि अनुसार त्यो पुस्तकालय नभइ पुस्तकादि ग्रन्थहरु संग्रह गरेर राखिएको ठाउँ भन्दा अत्युक्ति नहोला । यद्दपी ती संग्रहित ग्रन्थहरुले सिंगो जीवित इतिहास बोकेको छ । पछिल्लो समयमा आएर शिक्षाको महत्व बढ्दै जाँदा विद्यालय र क्याम्पसहरु खोल्ने होडबाजीसंगै वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । जसअन्तर्गत त्रिपुरेश्वरमा १२०० थान पुस्तक राखेर पुस्तकालय खुल्यो र वि.सं. २०१९ मा आफ्नो भवनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको रुपमा सर्‍यो । हाल त्रिभुवन विश्वविद्यालय परिसरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय देशकै ठूलो पुस्तकालयको रूपमा रहेको छ । यस पुस्तकालयले विश्व विद्यालयका शिक्षार्थीदेखि स्वदेशी तथा विदेशी अनुसन्धान कर्ता, विषय विशेषज्ञलाई सेवा दिने देखि पुस्तक प्रकाशनका सन्दर्भमा आईएसबीएन नम्बर उपलब्ध गराउने काम पनि गरिरहेको छ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयदेखि देशको शैक्षिक संस्था, सरकारी, गैर सरकारी संघ संस्थाहरुमा दक्ष, अनुभवी लाइब्रेरीयनको अभाव महशुस गरी पुस्तकालय प्रेमी, पुस्तकालय विकासमा समर्पित अग्रजहरूले पुस्तकालयको महत्वलाई पहिचान गराउन ,पुस्तकालयप्रति आकर्षित गर्न चाल्नुभएको कदम प्रसंशनीय छ । अग्रजहरु र त्रिभूवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पहलमा वि.सं. २०५२ देखि एक वर्षे स्नातक पुस्तकालय विज्ञान विषय (B.lib.sc) मा पढाई सुरु भयो । सात वर्ष सम्म एक वर्षे स्नातक अध्यापन गराएर दक्ष लाइब्रेरीयन उत्पादन गर्दै आएको त्रिभूवन विश्व विद्यालयले वि.सं. २०५९ देखि एक वर्षे स्नातक हटाएर पुस्तकालय तथा सूचना विज्ञानमा स्नातकोत्तर तहमा दुई वर्षे पढाई सुरु गर्‍यो । पछि वि.सं. २०७१ देखि हालसम्म चार सेमेष्टरमा पढाइ पुरा हुने गरि स्नातकोत्तर तहमाअध्यापन गराएर अन्तर्राष्ट्रिय स्तरका प्रोफेसनल लाइब्रेरीयन नेपालमा नै उत्पादन गर्न पुस्तकालय तथा सूचना विज्ञान विभागले गरिरहेको प्रयास पनि उल्लेखनीय छ । यस भन्दा अघि पुस्तकालय तथा सूचना विज्ञानमा स्नातकोत्तर अध्ययन गर्न भारत, चीन, अमेरिका जस्ता देशमा जानु पर्दथ्यो ।

अहिले त्रिभुवन विश्वविद्यालयको परिसरमा गान्धी भवनमा सेमेस्टर सिष्टममा पढाईका साथ प्रयोगात्मक कक्षा, इन्टर्नसिप लगायतका अभ्यासबाट पुस्तकालय व्यवस्थापन ‘म्यान्युअलदेखि डिजिटलाइजेसन’ ‘डीडीसी’ प्रणालीबाट ‘क्लासिफिकसन’, ‘क्याटालग’, ‘सब्जेक्ट हेडिङ’, ‘कोहा विनिसिस’, ‘डाटा इन्ट्री’आदिमा दक्ष बनाउनुका साथ स्नातकोत्तर हासिल गराउन त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान विभाग सफल भएको छ। त्यस्तै समय समयमा त्रिभूवन विश्व विद्यालयल र यससँग संबन्धित संस्थाहरुले ३५ दिने, तीन महिने अल्पकालीन तालिमसमेत सञ्चालन गरिरहेको काम प्रशंसनीय छ । फलस्वरूप अध्ययन पूरा गरेका र तालिम प्राप्त व्यक्तिहरूले सरकारी कार्यालयका खरिदारदेखि उपसचिवसम्म, गैरसरकारी संस्था युएन, युनेस्को, भारतीय, अमेरिकन राजदुतावास, सार्वजनिक, निजी स्तरमा सञ्चालित पुस्तकालयहरुमा रहेर सहर्ष सेवा दिने अवसर पाउनु गौरवको कुरा हो ।

पुस्तकालयका विकासको सन्दर्भमा विश्वका धेरै विशिष्ट व्यक्तित्वहरूको योगदान रहेको भएता पनि अग्रपङ्क्तिमा आउने व्यक्तित्व अमेरिकाका मेल विल लुई कसुथ डिवे अर्थात मेल्भिल जसलाई संसारमा आधुनिक पुस्तकालय विज्ञानका पिता पनि भनिन्छ । उनले सहायक लाइब्रेरियनको रुपमा काम गर्दै गर्दा नै दशमलव वर्गीकरण पद्धति डिवे डेकिमल क्लासिफिकेसन स्किम (डीडीसी) विकास गरे । जुन आज पनि अमेरिकाको लाइब्रेरी अफ कंग्रेसदेखि विश्वका ९० प्रतिशत भन्दा बढी पुस्तकालयहरुमा पुस्तकालय व्यवस्थापनमा प्रयोग हुँदै आएको छ । उनी भन्दा अघि र पछि पनि धेरै पुस्तकालय तथा सूचना विज्ञानको अध्ययन अध्यापनमा विशिष्ट योगदान दिँदै आएका व्यक्तिहरु भए पनि पुस्तकालयमा संकलित, प्रकाशित पुस्तकलाई कसरी व्यवस्थित गरी सजिलै भेटाउन सकिन्छ भनेर सन् १८६७  मा निकालेको ‘डीडीसी’ प्रणाली प्रसिद्ध भएको छ।

जति पनि प्रकाशित भएका पुस्तकहरु छन्, त्यसलाई मेल विल डिवेले १०० देखि ९०० सम्म विभाजन गरे र १०० देखि ९०० सम्ममा नपरेका कम्प्युटर विज्ञान, पत्रकारिता विज्ञान, पुस्तकालय विज्ञान आदिलाई ००० वर्गमा राखे । जुन आज पनि संसारका अधिकांश पुस्तकालयमा पुस्तक मात्र होइन अन्य डकुमेन्ट छुट्याउन, वर्गीकरण गर्न ‘डीडीसी’ नै प्रयोग गरिन्छ । मेल विल डिवेले १० वर्गीकरणलाई उपविभाजन समेत गरेर एक सरल दशमलव पद्धतिको सुरुवात पनि गरेका थिए ।

हाम्रो सन्दर्भमा पनि सरकारीदेखि गैर सरकारी कार्यालय, विद्यालय, विश्व विद्यालयतह सम्मका पुस्तकालयमा वैज्ञानिक ढंगबाट नै पुस्तकालय व्यवस्थापन गर्न सकेमा पुस्तकालय व्यवस्थापनमा सरलता, सहजता, उपयुक्तता देखिन्छ। संसारभर रहेका पुस्तकालयमा डीडीसी मात्र नभई यूडीसी, सीसी, एलसी जस्ता प्रणाली पनि नचलेकाले त होइनन् । तर पनि डीडीसी प्रणालीलाई नै सहज र सरल प्रणालीको रूपमा लिइएको छ। जसले लाइब्ररियनलाई मात्र होइन पुस्तकालय प्रयोगकर्तालाई पनि सहज, सरल र समयको बचत भएको छ।

त्रिभुवन विश्वविद्यालयले मानविकी सङ्कायमा पुस्तकालय विज्ञानमा स्नातकोत्तरतहमा अध्यापन गराएर अन्तर्राष्ट्रिय वैज्ञानिक प्रणालीमा काम गर्न सक्ने दक्ष मानव स्रोत उत्पादन गर्दै आएको छ । तर, पुस्तकालय, पुस्तकालयकर्मीलाई विश्वविद्यालय, विद्यालय, सरकारी निकायबाट वेवास्ता गरिएको पाइन्छ । देशको शिक्षाको धरोहर थाम्ने केही पुस्तकालयमा धुलै धुलो, किरा र ढुसीले भरिएको मुसाले खेल मैदान र आहारा बनाइरहेको खबर सुन्दा र देख्दा मनमा पीडा छटपटि हुन्छ । शिक्षाको महत्वपूर्ण थलोको रुपमा रहेको विद्यालयतहदेखि विद्यार्थीमा पढ्ने, खोजमूलक कार्यमा उत्प्रेरणा जगाउने, पुस्तकालय प्रयोगमा प्रोत्साहन गर्नु पर्नेमा बेवास्ता गरिएको पाइन्छ ।

विद्यालयदेखि नै अध्ययन अनुसन्धान, पठन सीपको विकासको लागि विद्यालयको दैनिक कार्यतालिकामा नै हप्तामा कम्तीमा पनि दुई दिन भए पनि पुस्तकालय प्रवेश गराउने, पढ्न लगाउने, पुस्तकालयको महत्व बताउने हो भने मात्र भोलिका कर्णधार मोवाइल र ट्याबका गेममा होइन पुस्तक र खोजमुलक काममा रमाउने छन् । त्यसैले पुस्तकालय व्यवस्थापनदेखि खोजमूलक कार्यका लागि पुस्तकालयको ढोका भित्र विद्यार्थी, गुरुवर्ग, सर्वसाधरणलाई प्रवेश गराउने, पुस्तकालय प्रयोगमा उत्प्रेरणा जगाउने कार्यमा सम्वन्धित निकायको ध्यान जानु आवश्यक छ, जरुरी छ ।

(लेखक त्रिवि पुस्तकालय तथा सूचना विज्ञान, कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । )