काठमाडौँ– सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।


ADVERTISEMENT


विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भर्चुअल रुपमा आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए।

उनका अनुसार, थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ । सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी समेत दिएका छन् । उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानीज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए । यसैगरि, नेपालको सन्दर्भमा खोपको अवस्था सन्तोषजनक रहेको र खोप कार्यक्रमका सबै पक्ष सबल रहेको उनको दाबी छ ।

यस्तै, विश्व स्वास्थ्य सङ्गठन, नेपालका नेशनल प्रोफेसनल अफिसर डा. राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताएका छन् । उनले विश्वमा २२ करोड ७६ लाख मानिसले र नेपालको सन्दर्भमा झण्डै साढे ४ मानिसले कोरोना विरुद्वको खोप लगाएको जानकारी दिए । उनले विभिन्न अध्ययनका अनुसार, कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको तथ्य समते उल्लेख गरेका थिए । गम्भीर रोग लागेकालाई सतप्रतिशत केही नभएको समेत उनले स्पष्ट पारेका छन् । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ रहेको छ ।

सार्कमा माल्दिभ्स बढी

डा. प्रधानका अनुसार, बिहीवारसम्मको तथ्यांकलाई हेर्दा, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा सबैभन्दा बढी खोप लगाउने देशको अग्रपक्तिंमा माल्दिभ्समा रहेको छ । यहाँ कुल २२.८८ प्रतिशतले खोप लगाएका छन् भने त्यसपछि धेरै खोप लगाउने राष्ट्रहरु क्रमशः श्रीलङ्का(२.५९), बङ्गलादेश (२.०३), भारतमा (१.१३) र पाकिस्तान (०.०३) प्रतिशत रहेका छन् । रासस