मान्म– सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीनबुँदे सहमतिका कारणले उत्साहित भएका हुन् ।


ADVERTISEMENT


माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि कालीकोटवासी त्रसित बनेका थिए । चन्द समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्माको गृहजिल्ला र चन्द समूहको प्रभाव क्षेत्र भएको कालीकोटमा कतै पुनःद्वन्द्व हुने हो कि भन्ने चिन्तामा कालीकोटवासी रहेका थिए ।


ADVERTISEMENT

# # #


चन्द समूह र सरकारबीच भएको सहमतिले देशमा शान्ति र स्थायित्व हुने, देश विकासमा लाग्न सबैलाई बाटो खुला भएको कालीकोट रास्कोट नगरपालिका १ स्थानीय रामबहादुर शाहीले बताए। देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने त्रास रहेको बताउँदै उनले भने; ‘सरकार र चन्द समूहबीच भएको सहमतिले फेरि शान्तिको सास फेर्ने आश पलाएको छ ।’

चन्द समूहको प्रभावित जिल्ला भएका कारणले कालीकोटमा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायत अन्य गैरसरकारी संस्थाका प्रतिनिधि गाउँमा जान पनि त्रसित हुने गरेका थिए । चन्द समूहका कार्यकर्ताले गाउँपालिकामा आगजानीलगायत कार्य गरेको कारणले स्थानीयवासी त्रसित बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटका ओली समूहका अध्यक्ष नगेन्द्र शाहीले बताए । ‘कालीकोटका स्थानीयवासीमा ठूलो डरत्रास थियो; थप्दै उनी भन्छन्; ‘अब त्यसको अन्त्य भएको छ । नागरिकमा उत्साह थपिदिएको छ ।’

कालीकोटमा विसं २०६४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको नरहरिनाथ गाउँपालिका ६ माल्कोटमा चन्द समूहले निर्वाचन बिथोल्न खोज्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए । सरकार र चन्द समूहबीच भएको तीनबुँदे सहमति स्वागतयोग्य भएको बताउँदै चन्द समूहका जिल्ला सचिव मनिलाल ऐडी अब खुला राजनीतिमा आउँदा सङ्गठन विस्तामा झन् बढी उत्साहसाथ लाग्न प्रेरणा दिएको छ बताउँछन् ।

‘खुला राजनीतिमा आउन पाउँदा हर्षित तुल्याएको छ । सरकार र हामीबीच भएको तीनबुँदे सहमति ऐतिहासिक हो; उनले भने । रासस