काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा प्रचण्ड–नेपाल समूहका नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । उनले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठेकाले नयाँ सरकार बनाउने बाटो तय गर्नलाई ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने बताए ।


ADVERTISEMENT


‘सर्वोच्चको फैसलाले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न गरेको छ , उहाँ कुन पार्टीको ? नेकपाको प्रधानमन्त्री होइन भने उहाँले विश्वासको मत लिनुपर्‍यो र नयाँ सरकार बनाउने बाटो तय गर्नलाई छोड्नु पर्‍यो,’ नेपालले भनेका छन् ।


ADVERTISEMENT

# # #


विश्वासको मत नपाएमा प्रधानमन्त्री पद जाने नेपालको भनाइ छ । ‘अब उहाँ प्रधानमन्त्रीबाट जसरी पनि हट्नुपर्ने भएको छ । कि उहाँ विश्वासको मतबाट असफल भएर हट्नुहुन्छ कि अविश्वासको प्रस्ताव दर्ता भएर हट्नु हुन्छ । दुई वटै अवस्थामा उहाँ हट्नु बाहेक अर्को विकल्प छैन,’ नेपालले भने ।

नेकपा नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले माग नै नभएको एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला गरेकाले सर्वोच्चको फैसला अनुपयुक्त भएको नेपालको ठहर छ । सर्वोच्चको फैसलाबारे कानूनी र राजनैतिक परामर्श भइरहेको बताउँदै उनले पुनरावलोकनका लागि जाने बताए ।