हेमन्त शिशिर


ADVERTISEMENT


कर्णालीको पुलमा उभिएर
गाउँदै थिएँ दर्नाली जनताको गीत
मनभित्र किरमिर–किरमिर
आइहाल्यो पूर्वी किल्लामा छुटेको डोल्मा दिदीको मुस्कान


ADVERTISEMENT

# # #


सेठेनीको मधुरो छायाँले बम्बैबाट बिदा गरेपछि
ठूलो टेपरेकर्डरमा क्यासेट हालेर
तब मात्रै बजाएको हुँ बाजकलीको सम्झनामा ठाडीभाका
जब सुस्ताएको थियो म सँगै ओरालो लागेको कर्णालीको फेद

छोड्नु थियो आमपानी पुगेर दौरालीको हातमा
रूइना थारूले छोरीका लागि पठाएको सेठकी छोरीको फाटो बच्छे
तर यसपाली छुटिगएछ बच्छे मेरै झोलाको ठेकमा
छुटेजसरी अम्बानीको घरको ठेकमा रूइना थारूको टाउको ।

ओहो !
झोलुङ्गे पुलको बीचमा बसेर सेती नदीतिर हेर्दै
पानीका थोपाहरू केलाइरहेको बम्बैवालो को हो ?
कम्मरमा सेतो धडो बाँधेर
खाणगोट्टो पर्खिरहेका सैपालको टुप्पो जस्ता आँखा कस्का हुन् ?
को हो निधारका रेखाहरूमा मन राखेर
श्रीमानको खबर पर्खिरहेकी योद्धा ?

यी सबै प्रश्नहरूलाई
माघी त्यारको पोकोमा बाँधेर मेरो छोरो
धुलौटोमा देशको नक्सा बनाउन सिकिरहेछ ।