काठमाडौँ – सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।
सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रलाई अघि बढाउने निर्णय गरेको नारायणकाजी श्रेष्ठले जानकारी लिए ।
उनका अनुसार बैठकले सर्वोच्चले रिट निवेदकको मागभन्दा बाहिर गएर पार्टीको एकीकरणमाथि नै प्रश्न खडा गरेको भन्दै गम्भीर असहमति प्रकट गरेको छ । यद्दपी बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरेको छ ।
नेता माधव कुमार नेपाल र झलनाथ खनालले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निर्णय गरेका छन् । नेता नेपालले सबै पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्ने र जुनसुकै पार्टीमा बसेपनि बामपन्थी आन्दोलनलाई शसक्त बनाउने बताए । उनले संविधान र लोकतन्त्रलाई बचाउन सबै शक्तिहरुसँग सहकार्य जारी रहने बताए ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो ।