काठमाडौँ – त्रिभुवन आर्मी क्लब काठमाडौँमा जारी ‘काठमाडौँ मेयर कप–२०७७’ पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबार बाग्मती प्रदेशसँग १० रनले पराजित भएसँगै आर्मीले प्रतियोगितामा आफ्नो यात्रालाई पूर्णविराम लगाएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि किकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले पारस खड्काको शतकको मदतमा २६६ रन बनायो । २६७ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको आर्मीका लागि कप्तान विनोद भण्डारीले जवाफी शतक प्रहार गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।


ADVERTISEMENT

# # #


आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन मात्रै बनाउन सक्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ११९ रन बनाए । त्यसक्रममा उनले ११४ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । यस्तै लोकश बमले ३८ बलमा ७ चौका र १ छक्काको मदतमा ४८ रन बनाएर आउट भए भने करण केसीले २४ तथा रोहित पौडेलले १५ रन बनाउनु बाहेक अन्यले दाहोरो अंक छुन सकेनन् ।

बाग्मतीका लागि अरियो पौडेलले ५ विकेट लिए । यस्तै रामनरेश गिरीले २ तथा पारस खड्का, सोनु देवकोटा र नन्नद यादवले समान १–१ विकेट लिए ।

यसअघि बाग्मतीका लागि पारस खड्काले शतक प्रहार गरे । सोमपाल कामीको बलमा जितेन्द्र मुखियाको हातबाट क्याचआउट हुनुअघि उनले १३३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यस्तै नन्दन यादवले नटआउट ४२ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २५ बलमा ५ चौका र १ छक्काको मदतमा ४२ रन बनाए ।

यस्तै इशान पाण्डेले २६ तथा आदिल खानले २१ रन जोडे भने पृथु बाँस्कोटा १२ रन बनाएर आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बाग्मतीले १ रन बनाउँदा पहिलो विकेटका रुपमा आकाश थापालाई गुमाएपछि ब्याटिङमा आएका पारसले कप्तान ज्ञानेन्द्र मल्लसँग १० रनको साझेदारी गरे । ज्ञानेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । यस्तैतेस्रो विकेटका लागि इशान पाण्डेसँग ७३ रनको साझे दारी गरेका पारसले पाँचौँ विकेटका लागि आदिल खानसँग महत्वपूर्ण ७६ रनको साझेदारी गरेपछि बाग्मतीले उच्च स्कोर बनाउन सफल भएको हो ।

आर्मीका लागि सोमपाल कामीले पाँच विकेट हासिल गरे । १० ओभरमा उनले ६५ रन खर्चिए । यस्तै विक्रम सोब, जितेन्द्र मुखिया, साहब आलम र करण केसीले समान १–१ विकेट लिए ।

बाग्मतीले जितछ हात पारे पनि प्रतियोगिताबाट भने बाहिरिएको छ । बिहीबार नै एपीएफ क्लबले ‘काठमाडौँ मेयर–११’ टिमलाई ७ विकेटले पराजित गरेँगै बाग्मतीको फाइनल पुग्ने सपना समाप्त भएको हो ।

काठमाडौँ महानरपालिकाको ५० लाख सहयोगमा नेपाल क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको उपाधीका लागि शनिबार नेपाल पुलिस क्लब र एपीएफ भिड्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।