काठमाडौँ–  चौथो प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे बस्न लागिएको सो बैठक प्रतिनिधि सभा पुनःस्थापना पछिको चौथो बैठक हो ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


आजको उक्त प्रतिनिधिसभाको बैठकमा नेताहरूले सम्बोधन गर्ने भनिएको छ । सम्बोधन गर्ने सत्ताधारी र प्रतिपक्षी दलका नेताहरूको नामको टुंगो पनि लागिसकेको छ ।

सभामुखको सचिवालयले जनाए अनुसार, प्रतिनिधिसभालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्नेछन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता पम्फा भुसालले सम्बोधन गर्ने तय भएको छ ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण र जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले पनि सम्बोधन गर्ने भएका छन् । त्यस्तै, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाका सांसद दुर्गा पौडेल र राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते असंवैधानिक रूपमा विघटन गरेपनि पुनस्थापना  भइसकेको प्रतिनिधिसभाले यसअघि पनि ३ पटक बैठक बसिसकेको छ । यद्यपि ती सबै शोकमै पारित भएका थिए ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि दोस्रो तहका नेताहरूले सम्बोधन गर्न लागेको भने यो पहिलो बैठक हो ।