लमजुङ– चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ ।


ADVERTISEMENT


लमजुङ क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो ।


ADVERTISEMENT

# # #


विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको मृत्यु र केही घाइते भएपछि बुधबार क्व्होलासोथर गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार बन्द गरिएको र बिहीबार विद्यालयले शोक मनाएको विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले बताए । ‘विद्यालय आजदेखि पुनः सञ्चालनमा आएको छ’, प्रध्यानाध्यापक गुरुङले भने । विद्यालय सञ्चालनमा आए पनि थोरै विद्यार्थी मात्र उपस्थित भएको उनको भनाइ छ ।

विद्यालयमा विद्यार्थी रहेकै बेला चट्याङ पर्दा तीन विद्यार्थी गम्भीर घाइते भएका थिए । घाइतेपश्चात्, हेलिकप्टरमा उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि कक्षा १० मा अध्ययनरत १७ वर्षीय विनोद विक भने मृत्यु मुखमा पुगेका थिए । गम्भीर घाइते छविन्द्र गुरुङ र अंशु गुरुङ उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानाध्यापक गुरुङले जानकारी दिएका छन् ।

विसं २०५२ मा स्थापना भएको यस विद्यालयमा हाल २६६ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस विद्यालयमा वाइफाइको तार, बिजुलीको तारमा समेत क्षति पुर्‍याएकामा अझै अवरुद्ध भइरहेको छ । रासस