प्रकाश सिलवाल, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुन लागेको यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ ।


ADVERTISEMENT


बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गर्नेछिन् ।


ADVERTISEMENT

# # #


उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन्। त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ । सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नेछिन् । उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यी विषयमा हुँदैछन् सम्झौता

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ । त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको उक्त भ्रमणबारे यही चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराउँदै यस भ्रमणले दुई पक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने बताएका थिए ।

बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ । नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले छिमेकी र अन्य मुलुकसँग पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याउँनाका साथै आपसी उच्चस्तीय भ्रमण तथा सम्बन्ध विस्तारको क्रमलाई निरन्तरता दिँदै आएको छ ।

विज्ञको विश्वास

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पुरानो सभ्यता भएको नयाँ देश बङ्गलादेशमा हुन लागेको राष्ट्रपति भण्डारीको यस भ्रमणको विशेष महत्व हुने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानबाट हालै ‘नेपाल–बङ्गलादेश सम्बन्ध’ प्रकाशन गराएका श्रेष्ठले दुई मुलुकबीच बहुढाँचाको सम्पर्क सञ्जाल र ऊर्जा आपूर्तिमाथि छलफल भएका बेला भ्रमणको महत्व रहने बताए । बङ्लादेशसँग बन्दरगाहसम्मको पारवहन मार्ग नेपालका लागि अपेक्षित रहेको र नेपालमा उत्पादित बिजुली बङ्गलादेशको खाँचो भएको उनको भनाइ छ । रासस