काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्माओलीले यही चैत्र २३ गतेभित्र विश्वासको मत लिनुपर्ने बताएको छ ।


ADVERTISEMENT


बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको आदेश अनुसार नेकपा विभाजन भई एमाले र माओवादी केन्द्रमा पुनर्जीवित भएर संविधानको धारा १०० को उपधारा २ आकर्षित भएकाले प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ ।’

गत फागुन २३ गते सर्वोच्चले तत्कालीन नेकपालाई विभाजन गरिदिएकाले स्वभाविक ढंगले त्यसको ३० दिनभित्र अर्थात चैत्र २३ गतेभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रमुख सचेतक गुरुङले बताए । ३० दिनभित्र नै विश्वासको मत लियो भने मात्रै सरकारको वैधानिकता हासिल हुने उनले बताए ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ ।