बोक्सीको आरोपमा प्रताडित वीरगन्जकी अधिकारकर्मी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई मुद्दा फिर्ता लिन पीडक पक्षले दबाब दिएका छन् । उनीहरूले आर्थिक प्रलोभन र भावनात्मक रूपमा बोक्सी कसुरविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
महिलाअधिकार मञ्च पर्साकी अध्यक्ष राजकुमारीविरुद्ध एकै घरमा कोठा भाडामा बस्ने छिमेकीले ८ असोजमा बोक्सीको आरोपमा दुव्र्यवहार र यातना दिएका थिए । अहिले पीडकहरूले गल्ती भएको भन्दै माफी दिन आग्रह गरेको राजकुमारीकी छोरी रसना ढकालले बताइन् ।


ADVERTISEMENT


‘राजनीतिक व्यक्तिबाट दबाब आएन, तर पीडक पक्षबाट मुद्दा फिर्ता लिन चर्को दबाब आइरहेको छ ।’ छोरी रसनाले भनिन् । ‘जे भयो भयो, बच्चाहरूले गल्ती गरे माफ गरिदिनुस् भन्दै थिए । हामीले मानेनौँ ।’
उनीहरूले भनेको नमानेपछि पीडकहरूले अन्य व्यक्तिलाई समेत फोन गर्न लगाएको रसनाले बताइन् । ‘घरमै आएर आग्रह गरे । त्यति गर्दा पनि नमानेपछि आर्थिक प्रलोभन देखाए ।’ उनले भनिन्
‘५० हजारदेखि दुई लाखसम्मको अफर आएको थियो । हामीले कानुनी उपचार नै विकल्प हो भन्यौँ ।’ उपाध्याय पर्सामा डेढ दशकदेखि महिलाअधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी हुन् । उपाध्यायले पनि आफूलाई बोक्सीको आरोप लगाउनेहरूलाई कानुनी कारबाही गराएरै छोड्ने बताइन् । ‘मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन् ।
तर, हामीले मानेका छैनौँ ।’ उनले भनिन् ‘एउटा अधिकारकर्मी भएर मैले नै गलत गर्नेहरूलाई उम्कन दिएँ भने अरूको अवस्था के होला रु त्यसैले म उनीहरूलाई कारबाही गराएरै छोड्छु । ’


ADVERTISEMENT

# # #


पीडित राजकुमारीको स्वास्थ्य सुधार हुँदै
बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना खेपेपछि राजकुमारी उपाध्यायको स्वास्थ्य अवस्था निकै कमजोर बनेको थियो । घटनापछि उनलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालमा चार दिन उपचारपछि काठमाडौँ लगेको छोरी रसना ढकालले बताइन् ।
काठमाडौंको टिचिङ अस्पतालमा सात दिन उपचारपछि उनलाई वीरगन्ज ल्याइएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको परिवारका सदस्यले बताएका छन् ।

पीडकहरू पुर्पक्षका लागि थुनामा
राजकुमारी उपाध्यायलाई बोक्सीको आरोप लगाउनेलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतले घटनामा संलग्न सशस्त्र प्रहरी जवानसहित पाँचैजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका श्रेस्तेदार ठाकुर खरेलले जानकारी दिए ।