पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत्र २५ गते निर्वाचन हुँदैछ । विपुल पोखरेल र निर्मला शर्मा अध्यक्षका प्रत्यासी रहँदै दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । केही स्वतन्त्र उम्मेदवारहरू समेत मैदानमा छन् । राज्यको चौथो अंग मानिने पत्रकारितालाई स्तरीय, सम्मानित, मर्यादित र व्यवसायिक बनाउनका लागि कस्तो नेतृत्व छान्ने भन्ने अधिकार यतिबेला आम पत्रकारहरूको हातमा छ । श्रमजिवी पत्रकार र पत्रकारिता पेशाकै सम्मुन्नत विकासका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरूको स्पष्ट एजेण्डा र योजना के छ त ? पोखरेल समूहबाट महिलातर्फ केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकी बाला अधिकारीसँग उनको चुनावी तयारी र एजेण्डामा आधारित रहेर हिमालय पोष्टले गरेको कुराकानीः


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै गर्दा तयारी कहाँ पुर्‍याउनु भयो ? व्यस्तता कत्तिको बढेको छ ? 


ADVERTISEMENT

# # #


हाम्रो तर्फबाट केन्द्र, प्रदेशदेखि जिल्लासम्मका उम्मेदवारहरु तोकिसकेका छौँ । विभिन्न जिल्लामा निर्वाचन कमिटीहरु छन् । ती कमिटीहरुले पनि तयारी गरिरहेकै छन् । यस हिसाबले हामीले तयारी करिब करिब सक्न लागेको अवस्था छ ।

तपाईंको उम्मेदवारी केका लागि ? एजेण्डाहरु के के छन् ? 

हामी सँधै अरुको समाचारहरु लेख्छौँ, प्रशारण गर्छौँ । तर, हामी आफैभित्र रहेका बेग्रल्ती समस्याहरुलाई वेवास्ता गरिरहेका हुन्छौँ । ती समस्याहरुलाई उजागर गरेर संस्थागत समाधानतिर लैजानु नै मेरो प्राथमिकता हो । यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिले बनाएको कानुनलाई कार्यान्वयन गर्ने कुरामा मेरो पहल हुनेछ । समाजलाई सुरक्षित र मर्यादित बनाउनका लागि पत्रकारिता पनि मर्यादित हुनुपर्छ । त्यसका लागि म काम गर्नेछु ।

तपाईं महिलातर्फबाट उपाध्यक्षमा लड्दै हुनुहुन्छ । निर्वाचन जितेपछि महिला पत्रकारहरुका लागि के गर्ने योजना बनाउनु भएको छ ?

महत्वपूर्ण कुरा भनेको हाम्रोमा महिला पत्रकारहरु विभिन्न समयमा विशेष गरी भर्खरै कोरोना भाइरसको समयको हामीले अध्ययन गर्दा विभिन्न सञ्चारगृहबाट जागिरबाट विमुख हुनेमा महिला पत्रकाहरु नै धैरै रहेछन् ।

उत्साहित भएर मिडियामा प्रवेश गरेका महिला पत्रकार  हतोत्साहित हुँदै जागिर छाड्नुपर्ने अवस्था बढ्दो छ । त्यस्ता महिला पत्रकारहरुलाई मिडियाकै क्षेत्रमा जीवन्तता दिनका लागि काम गर्नेछु ।

जनसंख्याको हिसाबले नेपालमा ५१ प्रतिशतभन्दा बढी महिला छन् । महिलाका लागि राज्यले ३३ प्रतिशत समावेशीताको कुरा ल्याएको छ । तर, पत्रकारिता क्षेत्रमा हामी १६ प्रतिशत महिलाहरु मात्रै छौँ । महिलाहरुको वृत्तिविकास गरी उहाँहरुलाई यो क्षेत्रमा आकर्षित गराउनु मेरो लक्ष्य हो ।

आफ्ना प्रतिद्वन्द्वीलाई कसरी हेरिरहनु भएको छ ? अरु भन्दा यस कारण म फरक छु भन्ने आधार तपाईंसँग छ ?

प्रधानमन्त्री केपी शर्माओलीको प्रतिगामी कदमले समग्र देश नै आक्रोशित भएको अवस्था छ । अहिलेको सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयास गर्दै आएको छ । हामी त्यसको विरोधमा छौँ । यस हिसाबले हामी प्रतिपक्षी हौँ । यतिका आधारमा म बलियो छु भन्ने होइन । म लामो समयदेखि पत्रकारिता गरिरहेको व्यक्ति हुँ । पत्रकारको पेशागत नेतृत्व गर्ने ठाउँमा बसेर मैँले काम गरिरहेको नै छु ।

महिला पत्रकारहरुको राष्ट्रिय भेलाहरुदेखि विकासवृत्तिका कार्यक्रमहरुमा पनि म सक्रिय नै छु । सूचनाको हकका लागि म विभिन्न समयमा सडकमा उत्रिएकी छु । साना लगानीका मिडियाहरुलाई सरकारले समावेशी विज्ञापन दिएर उनीहरुको अस्तित्व रक्षा गर्नु पर्छ भन्दै उभिएकी छु । महिलाहरुले पुरुषझैँ समान पारिश्रमिक पाउनु पर्छ भन्ने कुरा होस् या जागिरबाट निष्काशित हुँदा महिलाहरुलाई जिम्मेवारी प्रदान गराउने कुराहरुमा काम गरेको अनुभव मसँग छ ।

यस कारण म उहाँहरुभन्दा फरक छु र मेरो जित सुनिश्चित छ भन्ने कुराको आत्मविश्वास छ  । यद्दपी प्रतिद्वन्द्वीहरुलाई कमजोर आँक्नु हुँदैन ।

कतिपयले पार्टी निकट प्रेस संगठनको आडमा पत्रकार महासंघमा गएकाहरुले भोलि श्रमजिवी पत्रकारहरुकै मुद्दाहरु उठाउन छाडेर सरकारको पक्षपोषण गर्छन् भन्ने आरोप लगाउने गरेका छन् । उनीहरुलाई तपाईंको जवाफ के हुन्छ ?

यो गुनासो आउनु स्वभाविक हो । किनकी पत्रकार महासंघ भनेको एउटा साझा चरित्र बोकेको संस्था हो । हामी जुनसुकै संगठन निकट भए पनि त्यहाँ गइसकेपछि आस्थाका आधारमा नभई श्रमजिवीको पक्षमा वकालत गर्नुपर्छ । संस्थाको उद्देश्य अनुरुप काम गर्नुपर्छ । आफूले आस्था राखेको पार्टीसँग नजिक भएर श्रमजिवीलाई वेवास्ता गर्नेहरु पत्रकार होइनन्, उनीहरु अवसरवादी हुन् । यस्तो प्रवृत्तिलाई रोक्नुपर्छ ।

निर्वाचन जितेपछि तपाईंले गर्ने कामका प्राथमिकताहरु के के हुन् ?

अहिले कतिपय पत्रकाहरुले समयमा नै तलब पाउन सकेका छैनन् । त्यसका लागि हामीले आवाज उठाउँछौँ । न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गराउँछौँ । यस्तै स्वरोजगारमूलक सञ्चार माध्यमहरुलाई फस्टाउने गरी विज्ञापन तथा अन्य सहुलियतको व्यवस्थाका लागि राज्यसँग पहल गर्ने, पत्रकारहरुको वृत्तिविकास गर्ने कुरा मेरो प्राथमिकता हुन्छ ।

यस्तै महिला पत्रकारलाई समाचार वाचनमा मात्रै होइन, सञ्चारमाध्यमको नेतृत्व गर्न सक्ने गरी महिला पत्रकारहरुलाई क्षमता अभिवृत्तिका लागि विभिन्न किसिमका तालीमहरु प्रदान गर्ने कुरामा मेरो ध्यान हुनेछ । यस्तै समावेशीताको कुरा पनि म जोडतोडका साथ उठाउने छु ।

अन्त्यमा, आफ्ना मतदाताहरुलाई के भन्नुहुन्छ ?

स्वतन्त्र र व्यवसायिक पत्रकारिताले समाजलाई सुरक्षित र मर्यादित बनाउँछ । मर्यादित पत्रकारितामा म तपाईंसँगै रहनेछु । त्यसका लागि म तपाईंको अमूल्य मतको प्रतीक्षामा छु । तपाईंहरुको साथमा म सँधै रहिरनेछु । तपाईंको अमूल्य मत दिएर विजयी गराउनुहुन अनुरोध गर्दछु ।