बझाङ– दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् ।


ADVERTISEMENT


चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।


ADVERTISEMENT

# # #


विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तालाबन्दी गरेको विद्यार्थीले बताएका छन् । विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।

पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।

तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्व भएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रको भनाई छ । साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दा बीचमा चार/पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको उनले बताए । रासस