केबी उप्रेती
अध्यक्ष, राष्ट्रिय सहकारी बैंक


ADVERTISEMENT


राष्ट्रिय सहकारी बैंकले के काम गर्छ ?


ADVERTISEMENT

# # #


राष्ट्रिय सहकारी बैंकले सहकारी संघसंस्थाको प्रवर्द्धन गर्ने, कानूनी तथा अन्य समस्या समाधानका लागि सहजीकरण गर्ने, वित्तीय साक्षरता र सेवा सुविधा प्रदान गर्ने काम गर्दछ ।

कसरी काम गरिरहेको छ ?

हाम्रा सदस्य सहकारी संघसंस्था हुन्छन् । सहकारी संघसंस्थाको शेयर सहभागितामार्फत उनीहरुबाट निक्षेप संकलन गर्ने, वचत गर्ने र उनीरुमाथि लगानी गर्ने लगायतका काम गरिरहेका छौँ । हालसम्म हामीसँग १३ हजार बढी सहकारी संस्था आवद्ध भएका छन् । ३ अर्ब ऋण, ६० अर्ब वचत र ३३ अर्ब लगानी गरेको यस बैंकको कुल पूँजी ६५ अर्ब रहेको छ । देशभर ६८ वटा शाखा स्थापना गरी त्यहाँबाट हामीले सेवा प्रदान गरिरहेका छौँ ।

यही स्केलमा सहकारीमार्फत कारोवार गर्न आगामी के कस्ता कार्यक्रमहरु रहेका छन् ?

यसलाई नियमित गरेर शेयर थप गर्ने, ती संस्थाबाट वचत जम्मा गरेर लगानी गर्ने गरी कार्ययोजना बनाएका छौँ । विभिन्न २५ शीर्षकमा ऋण प्रदान गर्ने गरेकोमा कुनै सहकारी संस्थाले उद्योग, व्यवसाय वा सहकारी विस्तार गर्न चाहेमा ती परियोजना संञ्चालनका लागि त्यसअनुसार सहयोग गर्छौँ । सहकारी संस्थालाई वित्तीय साक्षरता प्रदान, तालीम, उनीहरुको स्तरोन्नति लगायतमा सहजीकरण गर्छौँ । सहकारीमा भएका समस्याहरुबारे सम्बन्धित निकायमा पहल गर्छौँ । कर, अडिट, ऐन, नियमावली सम्बन्धमा अन्तरक्रिया, छलफल, गोष्ठी गरेर सहकारी संस्थालाई सहजीकरण गर्दै आएका छौँ, यसलाई अझ प्रभावकारी ढंगले अघि बढाउँछौँ ।

सहकारी संघसंस्थामा के कस्ता समस्या छन् ?

खासगरी वित्तीय क्षेत्रमा संख्यात्मक वृद्धि भएपनि गुणात्मक हुन सकेको छैन । सुशासनको कमी छ । ऐन नियमावली लगायतका थुप्रै समस्या छन् । यसैका लागि हामीले आन्तरिक रुपले सहजीकरण गर्ने, नीति निर्माणमा लबिङ गर्ने, राष्ट्रिय सहकारी संस्था लिमिटेडसँग समस्या समाधानका लागि पहल गर्ने र राष्ट्रिय तथा अन्तररािष्ट्रय सहकारी क्षेत्रका विविध विषयको जानकारी गराउने गरी कार्यक्रम गरिरहेका छौँ ।

सरकारले के गरे सहकारीलाई सहज हुन्छ ?

औषतमा वचतमा २.७५ देखि ७ प्रतिशतसम्म र कर्जामा ६ देखि १० प्रतिशतसम्म ब्याजदर छ हाम्रो । यो हिसाबले सरकारले कुनै सफ्ट लोन तोकेर अपांग, कृषि, महिला, दलित आदिलाई केन्द्रित गरी कार्यक्रममार्फत अनुदान दियो भने हामी त्यसलाई व्यवस्थित ढंगले उक्त वर्गलाई केन्द्रित गरी लगानी गर्न सक्छौँ । ऐन, नियमावली बाँझिएकाले त्यहाँ समस्या छ, त्यसको पनि समाधान गर्नुपर्छ ।

अप्रत्यक्ष रुपमा जनतासँगै जोडिएपनि अन्य बैंक प्रत्यक्ष जनतासँग जोडिए जस्तै सहकारी संस्थामा मात्र नभएर सामान्य नागरिकसँग बैंकलाई जोड्ने त्यस्तो केही तयारी छ ?

अप्रत्यक्ष रुपमा जनतासमक्ष नै पुग्ने हो । सहकारीको व्यवसाय वृद्धि, वित्तीय साक्षरता सुधार, आय वृद्धि, क्षमता विकास, व्यवसाय प्रवद्र्धन, तालीम प्रदान आदि काम गरेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकारी गतिविधिको जानकारीदेखि पेशागत वृत्तिविकासका लागि भूमिका निर्वाह गरिरहेका छौँ । त्यसैले हाम्रो लक्षित समूह नै सहकारी संस्थाहरु हुन् । प्रत्यक्ष व्यक्तिसँग नभएपनि हामी संस्थासँग र ती संस्था व्यक्तिसँग जोडिएर यसरी काम गरिरहेका छौँ ।

केही सहकारीहरुले जनताको लगानी डुबाएर ठगेर भागेका घटना पनि आउँछन् । संस्थालाई नै ऋण दिने भएपछि यस्ता घटनाबाट बच्न बैंकले के गरिरहेको छ ?

यसका हाम्रा मापदण्ड छन् र प्रतिनिधिलाई जमानी राखेर कतिपय अवस्थामा धीतो समेत राखेर ऋण दिइरहेका छौँ । त्यसकारण हामी सुरक्षित छौँ । राष्ट्र बैंकले पनि नियमन गर्ने सहकारी संस्था भएको सहकारी बैंक हामी नै हौँ र राष्ट्र बैंकले ३ प्रतिशतभन्दा बढी खराब कर्जा भयो भने त्यसलाई नराम्रो छ । हाम्रो खराब कर्जा ०.७ प्रतिशत मात्र छ, त्यसकारण पनि हामी सुरक्षित छौँ ।

अन्तिममा के भन्नुहुन्छ ?

अहिले देशभर ३० हजार बढी सहकारी संस्था भएकोमा हामीसँग १३ हजार बढी संस्था जोडिएका छन् । नजोडिकाहरुलाई यसमा जोडिन अनुरोध गर्दै सहकारी संस्था सुदृढिकरणका लागि मर्यादित ढंगले व्यवसाय सहजीकरणका लागि सहकार्य गर्ने प्रतिवद्धता गर्दछु । हालै हामीले गत चैत २० गते राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रम पनि गर्यौँ । उक्त कार्यक्रम हामीले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकार्य’ नारासहित गरेकोमा त्यस कार्यक्रमद्वारा पनि हामीले हाम्रो सफलता संघसंस्था समक्ष पेश गर्न पाएका थियौँ ।