बलेवा– बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ ।


ADVERTISEMENT


यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो ।


ADVERTISEMENT

# # #


उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यसलाई अझ आर्कषक बनाउन यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले रु. १० लाख विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।

यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट एक घण्टा जीपको यात्रा गर्नुपर्छ । पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आर्कषक गन्तव्य हो । भीमगिठेबाट दुई देखि ३ घन्टामा पैदलयात्रा गर्न सकिने भएकोले एकदिने यात्रा गर्न चाहनेलाई यो मार्ग आर्कषक रहेको स्थानीयवासी गण्डकी थापा अधिकारीले बताइन् ।

‘उच्च स्थानमा रहेकोले पर्यटक आर्कषण गर्न सक्ने स्थान छ’, उनले अघि भनिन्, ‘यहाँ वनभोज स्थलसमेत बनाउन सकेमा वरपरका मानिसलाई भित्र्याउन सकिन्छ ।’ पदमार्ग आसपासमा पनि साना होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने उनले बताए ।

भीमगिठेदेखि यात्रा गर्न माथिल्लो स्थानसम्म पुग्दा हरियाली वनजङ्गल, डाडाँकाँडा, र मैदान भेटिन्छ । ‘पर्यटकका लागि लोभलाग्दो स्थान हो, हामीले व्यवस्थापनका लागि काम गरिरहेका छौं’, स्थानीयवासी पविता थापा भन्छिन्, ‘मोटरबाटो पुगेकोले पैदल जान नसक्नेलाई पनि सहज बनेको छ ।’ गाउँपालिका र वडाले प्रचारको काम थालेपछि दैनिक घुम्ने र वनभोज खाने पुग्न थालेको उनको भनाइृ छ ।

यहाँ पुगेकाहरुले बस्न चाहेको खण्डमा थामचौरमै होटलको आवश्यकता देखिएको स्थानीयवासी लालबहादुर थापा बताउँछन् । ‘बस्न खोज्नेलाई होटल वा टेन्ट बनाउने योजना चाहिएको छ’, अघि बोल्दै उनले भने, ‘गाउँपालिकाबाट बजेट मागेर थप पूर्वाधारका योजना पनि थप्ने लक्ष्य छ।’

कोरोना महामारीका कारण थला परेको बागलुङको पर्यटन विस्तारै तङ्ग्रिन थालेसँगै नयाँ गन्तव्यको पहिचान र प्रचारप्रसारमा समेत स्थानीय तहले चासो देखाउन थालेका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्ष सरकारले घोषणा गर्दा उत्साह छाएको बागलुङको पर्यटनमा कोरोना महामारीले ठूलो असर गरेको थियो । रासस