– डा. पुष्पमणि खराल : एमडीजीपी, मुलपानी नगर अस्पताल


ADVERTISEMENT


किन हुन्छन् मानिस रोगी ?


ADVERTISEMENT

# # #


वर्तमान समय शिक्षा, सामाजिक सञ्जाल र चेतनाले भरिपूर्ण समाज हो । पर्याप्त पहुँचका कारण अहिलेका मानिस कस्तो अवस्थामा के गर्ने? कस्तो खाना खाने र कस्ता गतिविधिबाट आफूलाई स्वस्थ एवम् स्फूर्त राख्ने भन्ने विषयमा आवश्यक ज्ञानले भरिपूर्ण छ । उनीहरु आफूलाई आइपरेको कुनै पनि स्वास्थ्य समस्याको निराकरण एवम् उपचारको विषयमा आवश्यक ज्ञान सहजै रुपमा प्राप्त गर्न सक्ने भएका छन् ।

यद्यपि यति हुँदा हुँदै पनि आजका मानिस विगतका मानिसहरुको तुलनामा बढी रोगी र अस्वस्थ्यकर जीवनयापन गरिरहेका छन् । विगत र वर्तमान अवस्थाको आम व्यक्तिको स्वास्थ्य अवस्थालाई तुलनात्मक रुपमा नियाल्ने हो भने आजका दिनमा कुनै पनि घटना विशेष मात्र नभई अन्य विविध कारणले वृद्धवृद्धा र बालबालिका मात्रै नभई युवापुस्ता पनि विभिन्न रोगका शिकार भइरहेको देखिन्छ । मानिस रोगी हुनुका कारण र निरोगी बन्नका लागि अपनाउनु पर्ने उपायहरुको बारेमा तल विश्लेषण गरिएको छ ।

यसका कारणहरु

शरीरमा विभिन्न रोगहरु उत्पन्न हुनुको मुलतः कारण नै जीवनशैलीमा देखिएको हाम्रो कमीकमजोर अर्थात्, गुणस्तर जीवनशैलीको अभाव नै हो । र, व्यक्तिको गुणस्तरहीन जीवनशैलीलाई बढावा दिने केही मुख्य पक्षहरु भने निम्नानुसार रहेका छन्ः

अल्छिपना-शारीरिक व्यायामको कमी

आजका दिनमा व्यक्ति रोगी वा अस्वस्थ्यकर हुने प्रमुख कारणमध्ये शारीरिक व्यायामको कमी पनि एक मुख्य कारण हो ।

वर्तमान समयमा अधिकांश कार्य एवम् गतिविध कम्प्युटरकै माध्यमबाट सम्भव भएकाले पनि धेरैजसो व्यक्तिहरु लामो समयसम्म एकै ठाउँमा बसी आफ्नो कार्य सम्पन्न गर्ने गर्छन् । प्रविधिले व्यक्तिको जीवनमा ल्याइदिएको सहज र सरलीकरणको सकरात्मक पाटाको छायाँमा परेको यो प्रविधिको नकरात्मक पाटो हो ।

र, कतिपय व्यक्तिहरु भने आफ्नो अल्छिपनको कारण पनि आफ्नो खाली समयमा समेत एकै ठाउँमा बसेर वा सुतेर समय व्यतीत गर्ने गरेको पाइन्छ । यसरी लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्ने र शारीरिक रुपमा निस्क्रिय रहने बानीले व्यक्तिमा उच्च रक्तचाप, मुटुरोग, कोलेस्टोर, मोटोपन तथा टाइप-२ मधुमेहको समस्या निम्त्याउँछ ।

प्रदूषित वातावरण

अधिकांश व्यक्तिमा हाल देखिएको स्वास्थ्य समस्याको अर्काे प्रमुख जड भनेको दूषित वातावरण पनि हो । यसले व्यक्तिमा आँखा, श्वासप्रश्वास एवम् फोक्सो सम्बन्धिका विभिन्न समस्याहरु निम्त्याई रहेका छन् ।

धुम्रपान तथा मद्यपानको सेवन

धुम्रपान र मद्यपानको सेवन शरीरको लागि जुनसुकै बेला पनि हानिकारक नै रहन्छ । अधिकांश व्यक्तिहरुमा अचेल आफ्नो सुख वा दुःख यी नै गलत पदार्थहरुको सेवनबाट प्रकट गर्ने संस्कृति मौलाएको देखिन्छ । यसले व्यक्तिमा दम, श्वासप्रश्वास एवम् फोक्सोसम्बन्धि समस्या निम्त्याउँछ नै । यसैगरी यसले व्यक्तिको शारीरिक मात्र नभई सामाजिक पक्षमा पनि उत्तिकै असर पुर्‍याई रहेको हुन्छ ।

प्रतिस्पर्धाको भावना

आजको यस समयमा व्यस्त जीवनशैली र प्रतिस्पर्धाको नाममा अधिकांश व्यक्तिहरुले आफैँलाई एक किसिमको मानसिक तनाव दिइरहेका छन् । उनीहरु प्रतिस्पर्धा र व्यस्त जीवनशैलीको बहानामा आफ्नो स्वास्थ्यसँगै सम्झौता गरिरहेका छन् । जसले पनि व्यक्तिलाई अस्वस्थ्यकर एवम् रोगी जीवनशैलीतर्फ धकेल्न थप मद्दत पुर्‍याएको छ ।

अत्याधिक जंकफुडको सेवन

विलासी जीवन जिउने र बाहिरी खानाको सेवन गर्ने बाहनामा अधिकांश व्यक्तिले हाल आफ्नै शरीरलाई जानी–नजानी अवस्थकर अवस्थातर्फ धकेल्ने क्रम बढ्दो छ । यसका कारण व्यक्तिमा मोटोपन, पाचन प्रक्रियाको समस्या, डिप्रेशनलगायतका अन्य विविध समस्या देखापर्छ ।

आफ्नो स्वास्थ्य गतिविधिका सम्बन्धमा इन्टरनेटमै पूर्ण रुपमा भर पर्नु

अचेल अधिकांशमा आफूमा देखिएको स्वास्थ्य समस्या इन्टरनेटको सहायताबाटै हल गर्न खोज्ने प्रवृत्तिको विकास नकरात्मक शैलीबाट भएको देखिन्छ । आफूमा आइपरेको समस्या के–कस्ता कारणले भएको हो? त्यसबारे बुझ्न एवम् जान्न खोज्नु सही भए पनि त्यसको समाधन इन्टरनेटको माध्यमबाटै खोजी गरी आफूमा अपनाउन खोज्ने बानी भने विल्कुल गलत हो ।

व्यक्तिको स्वास्थ्य एवम् शारीरिक संरचनाकै आधार अनुरुप उपचार गर्नुपर्ने भएकाले सामाजिक सञ्जालमा देखाइएको जस्तो सबै व्यक्तिको उपचार शैली एकै नहुन सक्छ । अर्थात्, सरल शब्दमा भन्नुपर्दा स्वास्थ्यमा देखिएको एकैखाले समस्याहरु सबै व्यक्तिमा एकै किसिमले निको हुँदैन । यसका लागि आवश्यक एवम् फरक–फरक स्वास्थ्य परीक्षणको माध्यमबाट उक्त समस्याको मुल कारण पत्ता लगाउनु पर्ने हुन्छ । यसकारण पनि सामाजिक सञ्जालमा देखाइएको र दिइएको समाधानको उपायलाई अन्धभक्त भएर आफूमा लागु गर्ने भुल गर्नु हुँदैन । अन्यथा यसले व्यक्तिमा अर्काे गम्भीर समस्या निम्त्याउने भय रहन्छ । यसको साटो सम्बन्धित समस्याको बारेमा बेलैमा चिकित्सको परामर्श लिनु उचित रहन्छ ।

रोकथाम तथा बच्ने उपाय

यस्ता समस्याबाट बच्ने उपयुक्त उपाय भनेकै सर्वप्रथम यसका कारणबाट टाढा रही आफूमा भएको ज्ञानलाई व्यवहारिक रुपमा उतार्नु हो ।

यसका साथै आफूमा देखिएको कुनै पनि स्वास्थ्य समस्याको समाधानबारे फार्मेसीमा गई जथाभावी औषधि प्रयोग गर्ने गल्ती नगरी तुरुन्तै सम्बन्धित चिकित्सकलाई देखाई उनीहरुले दिएको सल्लाह एवम् उपायलाई आफूमा अपनाउने प्रयत्न गर्नुपर्छ । यसले व्यक्तिलाई सो समस्याबाट हुने पीडाको समयावधिलाई घटाउनुका साथै स्वास्थ्यमा हुने अन्य प्रतिकुल असरबाट पनि बचाउँछ ।

यस्तै, शारीरिक रुपमा चुस्त एवम् मानसिक रुपमा शान्त रहने र उचित आहारको सेवनको प्रयास गर्नु नै अस्वस्थ्यकर जीवनशैलीबाट छुटकारा पाउने मूलमन्त्र हो ।

प्रस्तुतिः सृजना मगर ।