काठमाडौँ – नेकपा माओवादी केन्द्र छाडेर एमालेतिर लागेपछि सांसदबाट हटेका चार मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उर्जामन्त्री तथा जनस्रोतमन्त्री टोप बहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीलाई सपथ खुवाएकी हुन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपमा एकतालाई अवैधानिक ठहर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनीहरुले एमालेमा बस्ने निर्णय गरेका थिए । सुरुमा स्पष्टीकरण सोधेको माओवादी केन्द्रले त्यसपछि पार्टी छाडेको भन्दै कारबाहीस्वरुप सांसद पदबाट हटाउने निर्णय संघीय संसद सचिवालयलाई बुझाएको थियो ।
उनीहरु सांसद पद मुक्त भएसँगै मन्त्रीबाट हटेका थिए । लगत्तै प्रधानमन्त्री ओलीको सिफरिसमा राष्ट्रपतिले उनीहरुलाई संविधानको धारा ७८ अनुसार मन्त्रीमा पुनःनियुक्त गरेकी हुन् । संविधानमा सांंसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था रहेको छ । आज सपथ लिएका मन्त्रीहरुले अबको ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभाको सदस्य बन्नु पर्नेछ । नभए मन्त्रीबाट स्वतः हट्नुपर्नेछ ।