काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित पक्रउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ का नमराज अधिकारी र रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं. ३ का रामचन्द्र थापा रहेका छन् ।


ADVERTISEMENT


सोमबार वास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


एसएसपी भट्टराईका अनुसार उनीहरुले काठमाडौँ तारकेश्‍वर नगरपालिका वडा नं. ६ पैयुटारमा पैयुटारबाट मोटरसाइकल चोरी गरेका थिए । उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी.सी।को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ ।

नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ घर भएका राजु तामाङले मोटरसाइकलको हुलियासहित गत चैत्र २७ गते दिएको निवेदनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारवाही अभियान महाशाखाले चलाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।