काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियालाई ६९ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले करण केसीले विष्फोटक ब्याटिङ गरेपछि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनायो । २१८ रनको विशाल चुनौति पच्छ्याएको मलेसिया १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


मलेसियाका लागि अमिनुद्धिन राम्लीले सर्वाधिक ४१ रन बनाए । १८ बलमा उनले १ चौका र ५ छक्का प्रहार गरे । यस्तै कप्तान अहमद फेज २१ बलमा ४ चौका र १ छक्काको मदतमा ३१ रनमा आउट हुँदा फित्री शाम १४, भिरन्दीप सिंह १३ र ऐनूल हाफिल ११ रनमा आउट भए ।

नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । कमलले आफ्नो डेब्यू खेलमै ३ विकेट लिएका हुन् । यस्तै सुसन भारीका नाममा १ विकेट रह्यो ।

यसअघि सातौँ नम्बरमा आएका करण केसीले १३ बलमा ७ छक्का ठोक्दै ४५ रन जोडेपछि नेपालले विशाल योगफल तयार पार्‍यो ।

नेपालको पहिलो विकेटका रुपमा कुशल भुर्तेल १२ बलमा २ छक्काको मदतमा १६ रन बनाएर आउट भए भने दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २५ बलमा ४२ रन बनाए । आउट हुनुअघि उनले १ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै आशिफले ३ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ३३ रन र दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ७३ रनको साझेदारी गरे ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बलमा ५ चौका र १ छक्काको मदतमा ३३ रन जाडे भने कुशल मल्ल १० बलमा २ छक्काको मदतमा १९ रन बनाउँदै नटआउट रहे । विनोद भण्डारीले ८ रन बनाए । सोमपाल २ रनमा आउट भए ।

नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिन फर्म्याटमा गत शनिबारदेखि सुरु भएको थियो ।

आजको जितसँगै नेपालले चार खेलमा तीन जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो भने तेस्रो खेलमा नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । आजको खेलमा मलेसियामाथि ६९ रनको विशाल जित हात हात पारेको हो ।

यता नेदरल्याण्डले ४ खेलमा २ जित, १ हार र १ बराबरी खेलेको छ । मलेसियाले १ खेल बराबरी गर्दा ३ खेलमा हार ब्यहोर्दै प्रतियोगिता अन्त्य गरेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आगामी शनिबार नेपाल र नेदरल्याण्ड उपाधीका लागि भिड्दैछन् ।