काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको आज उद्घाटन गर्दैछन् । आज  बिहान ११ः०० बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।


ADVERTISEMENT


छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लाग्यो । छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।


ADVERTISEMENT

# # #


विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेकाका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैँ बनाउँछु’ अभियान शुरु गरेका थिए ।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ ।

धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । धरहराको आज बिहान ११ः०० बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको जानकारी पनि उनले दिए ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्‍याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।

हाल धरहराको स्तम्भ मात्र बनेकाले अन्य काम भइरहेको छ । धरहराको सबै काम सम्पन्न हुन अझैँ करिब एक वर्ष जति लाग्ने भएकाले सर्वसाधारणले तत्कालै चढ्न नपाउने प्राधिकरणले जनाएको छ । धरहराको स्तम्भ तयार भएपनि धरहराको स्वामित्व कसले लिने र धरहरा चढ्नेहरूका लागि कसले टिकट काट्ने लगायतका विषयको समेत अझै टुंगो लागिसकेको छैन ।