काठमाडौँ– काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि सोमबार बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने छन् । अनावश्यक हिंडडुल गर्न पाइने छैन । सरकारले अत्यावश्यक भनेर तोकेका सेवासँग सम्बन्धित कर्मचारी र पास भएका व्यक्तिहरुलाई मात्रै हिंडडुल गर्न दिइने छ ।


ADVERTISEMENT

# # #


यसअघि आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।

कुन-कुन सेवाहरु बन्द हुन्छन् ?

निषेधाज्ञा अवधिभर सार्वजनिक तथा निजी सवारी साधनहरु बन्द हुने छन् । यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाइने छ । यद्यपी होटल–रेष्टुरेन्टले होम डेलिभरी गर्न भने पाउने छन् ।

कुन-कुन सेवाहरु खुल्छन् ?

अन्य सवारी साधनमा रोक लगाइए पनि एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडीलाई निर्वाध रुपमा चल्न दिइने छ । यस्तै खाद्यान्न, पानी, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तु बोकेका सवारी साधन पनि सञ्चालन हुने छन् ।

सम्पूर्ण सरकारी कार्यालयहरु नियमित सञ्चालन हुनेछन् भने बैँक निजी बैँक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न पाइनेछ । यद्दपी जनस्वास्थ्यमा मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने छ ।

दैनिक उपभोग्य वस्तु किनबेचका लागि निश्चित समय तोकिने छ । हवाई सेवाहरु नियमित सञ्चालन हुनेछन् ।