भेषराज बस्नेत, राँझा– खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले व्यक्तिगत लगानीमा गाउँमै १० शैय्याको आइसोलेशन सेन्टर तयार गरेका छन् ।


ADVERTISEMENT


बाँकेमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिसक्दा पनि स्थानीय तह अलमलमा परिरहेका बेला मल्ल राधापुर स्वास्थ्यचौकीमा व्यक्तिगत रुपमा करीब रु. पाँच लाख लगानी गरी अक्सिजन सुविधाको आइसोलेशन निर्माण गरेर जनतालाई सङ्क्रमणबाट बचाउन लागिपरेको हो ।


ADVERTISEMENT

# # #


‘महामारीका बेला सबभन्दा पहिला जनतालाई स्वास्थ्य सेवा पुर्‍याउनु नै पहिलो प्राथमिकता हो । लकडाउनको बेला बिरामीलाई गाउँबाट अस्पताल पु¥याउने कुरा पनि समस्या हुने भएकाले गाउँमै तत्काल उपचार पाउने गरी आइसोलेशन तयार गरेका छौँ’, मल्लले भने, ‘भेरी अस्पतालमा बिरामीले बेड र अक्सिजन नपाउने समस्या रहेकाले कम्तीमा गाउँमै त्यो सेवा प्रदान गर्न सकौँ भन्ने हाम्रो प्रयास हो ।’

वडाध्यक्षको लगानीमा राधापुर स्वास्थ्यचौकीमा अक्सिजनको आइसोलेशन शैय्याको व्यवस्था भएपछि वडामा सङ्क्रमित कोभिडका बिरामीलाई धेरै सहजता भएको स्थानीय अगुवा विनोद थापाले बताए । तीव्र गतिमा देखिएको कोरोना सङ्क्रमण रोकथामका लागि आजदेखि बाँकेभरि बन्दाबन्दी थपिएको छ ।

बन्दाबन्दीमा अधिकांश जनप्रतिनिधि घरघरमै रहनुभएको छ तर खजुरा गाउँपालिका–४ का अध्यक्ष तिलकवीर सुनारको पनि दैनिकी भने बद्लिएको छ । भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा बिरामीलाई अक्सिजन खरीदका लागि रु एक लाख ३२ हजारभन्दा बढी रकम प्रदान गरेएका वडाअध्यक्ष सुनारले अहिले वडामा भारतलगायत बाहिरी मुलुकबाट आउने व्यक्तिको पहिचान र सम्भावित सङ्क्रमितको खोजीमा दिन बिताउने गरेका छन् ।

‘मेरो वडामा धेरै दाजुभाइ भारतबाट फर्किनुभएको छ, उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न र नयाँ बिरामी भेटिए तत्काल अस्पताल पुर्‍याउन जनताको घरदैलोमै घुमिरहेको छु’, सुनार भन्छन्, ‘जुनसुकै बेला पर्न सक्ने अप्ठेरो परिस्थितिलाई ध्यानमा राखेर जनतालाई आवश्यक सजगता र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै हिँडिरहेको छु । रासस