महेन्द्रनगर– झण्डै डेढ महिनादेखि भारतबाट स्वदेश फर्किन लागेका नेपालीलाई गड्डाचौकी नाकामा ‘एन्टिजेन’ परीक्षण थालेको स्वास्थ्य कार्यालयले दैनिकजसो सीमानाकामा पोजेटिभ ‘केस’ आइरहेको जनाएको छ ।


ADVERTISEMENT


आफूहरुको चाहना भारतबाट आउने सबैलाई परीक्षण गर्न पाए हुन्थ्यो भन्ने रहेको बताउँदै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘यहाँ सम्भावित लक्षण देखिएका र भारतको बढी प्रभावित क्षेत्रबाट आएकालाई परीक्षण गर्नु भन्ने निर्देशन छ ।’


ADVERTISEMENT

# # #


उनका अनुसार, दोस्रो चरणको कोरोना कहरमा कञ्चनपुरमा १५ जनाले ज्यान गुमाइसकेका छन् । ‘गत वर्ष र अहिले गरी २९ जनाले सङ्क्रमणबाट ज्यान गुमाएको बताउँदै उनले भने, ‘नाकामा लक्षणविना पोजेटिभ देखिए यहाँको आइसोलेसन र लक्षणसहित गम्भीर देखिए सीमाबाट एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने गरेका छौँ ।’

त्यसैगरी कोरोना नियन्त्रणका लागि लकडाउन गरिएपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुलाई सम्बन्धित जिल्ला पुर्‍याउने काम स्थानीय प्रशासनले गरिरहेको छ । ‘नाकामा होल्डिङ सेन्टर स्थापना गरेर त्यहीँ बस पठाएर सम्बन्धित जिल्ला पुर्‍याउने काम भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले भन्छन्, ‘सङ्क्रमण नदेखिएकाले सोझै घर पठाउने काम भइसकेको छ ।’

गड्डाचौकी नाकाबाट दैनिक ३०० देखि ६०० को हाराहारीमा स्वदेश फर्किने गरेको प्रहरीको भनाइ छ । त्यसगैरी गौरीफन्टा नाकाबाट बितेको एक सातामा छ हजार २ सय १६ नागरिक स्वदेश भित्रिएको प्रहरीले जनाएको छ । रासस