शेरबहादुर सिंह, महेन्द्रनगर– सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ ।


ADVERTISEMENT


गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क व्यवस्थापन, आगन्तुकको स्वास्थ्य परीक्षण, आइसोलेसन र क्वारेन्टिन सुरक्षादेखि सङ्क्रमितको शव व्यवस्थापनमा खटिएको सेनाले कोरोनाको दोस्रो कहर आउँदा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै सक्रियता बढाउँदै लगेको छ ।


ADVERTISEMENT

# # #


भारतबाट कोरोना त्रासदीबीच नेपाली स्वदेश फर्किंदा सेनाले यहाँको गड्डाचौकी नाकामा दिइएको जिम्मेवारीअनुसार होल्डिङ सेन्टर निर्माणको तयारीमा रहेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ । होल्डिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग र स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने निर्देशन केन्द्रको रहेको छ ।

सैनिक संरचनामा कञ्चनपुरको जिम्मेवारी पाएको सेनाको श्रीदल गुल्मले हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएका १२ जनाको शव महाकाली नदीमा व्यवस्थापन गरिसकेको छ ।

महामारीका बेला गठित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले दिएको जिम्मेवारी र माथिल्लो निकायको निर्देशनअनुसार सेनाले कोरोना कहरबीच त्यसको नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षामा निम्ति खटिएको श्रीदल गुल्मका गुल्मपति सेनानी प्रतीक सिंह कार्कीले बताए । यहाँ कोरोना नियन्त्रणका लागि बिहीबारदेखि गरिएको लकडाउन पूर्णरूपमा पालना गर्न सेनाले विभिन्न गस्तीहरु पनि गर्ने योजना रहेको बताउँदै उनले भने, ‘गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माणपछि स्वदेश फर्किनेहरुलाई पनि सीमा नाकामा सहजता मिल्नेमा आशावादी छौँ ।’

त्यसैगरी भीमदत्त नगरपालिकामा सेनाकै जनशक्ति सहयोगमा निर्माण भएको १०० शय्याको आइसोलेसन कक्षको सुरक्षा जिम्मेवारी पनि अहिले सेनाले निभाउँदै आएको छ । कोरोना कहरकै समयमा प्रहरीलाई सुरक्षामा सहजीकरण होस् भनेर कारागारको सुरक्षा पनि सेनाले गर्दै आएको छ ।

गत वर्ष यहाँ तैनाथ सेनाको गुल्म गड्डाचौकी नाकाबाट स्वदेश फर्किने नेपालीलाई गरिएको भोजन व्यवस्थापनमा पनि खटिएको थियो । कञ्चनपुरमा बिहीबार राति पनि उपचारका क्रममा दुईजना सङ्क्रमितको मृत्यु भएको छ । रासस