झापा– मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ ।


ADVERTISEMENT


किराँत समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो ।


ADVERTISEMENT

# # #


लिम्बु, राईलगायत किराँत समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किराँत सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको बताउँदै बिनाशर्त पुनःस्थापनाको माग गरेका छन् ।

मेची पुलको दक्षिणपट्टी पाँच कठ्ठा जग्गामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी चिहान छन् । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किराँत समुदाय भावविह्वल बनेको उनको भनाई छ । धार्मिक संस्कार र पितृसँगको भावनात्मक नाता गाँसिएको पवित्र समाधिस्थल भत्काइएपछि आक्रोशित बनेका महिला र वृद्धवृद्धासहित किराँत समुदायको ठूलो सङ्ख्या बिहीबार विरोध पत्र बुझाउन नगरपालिका पुगेको थिए ।

नगरप्रमुख विमल आचार्यलाई विरोध पत्र बुझाउँदै किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले वर्षौदेखि किरात समुदायले बनाएको समाधिस्थल तथा उनीहरुको आस्थाको केन्द्र नगरपालिकाले भत्काएकाले तत्काल त्यसको पुनःनिर्माण गर्नुपर्ने बताए । धार्मिक आस्थामाथि प्रहार तथा जातीय विभेद हुँदा स्थानीय सरकारले न्याय नदिएमा त्यसकाविरुद्ध चरणबद्ध आन्दोलन र कानूनी उपचारमा जाने उनले चेतावनी समेत दिएका छन् ।

सो अवसरमा नगरप्रमुख आचार्यले नगरपालिकाले समाधिस्थल नभत्काएको बताउँदै यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी वास्तविकता वाहिर ल्याउने र समस्याको समाधान खोजिने प्रतिबद्वता व्यक्त गरेका छन् । सशस्त्र प्रहरीको बीओपी स्थापनाका लागि सरसफाई गर्न डोजर पठाइएको बताउँदै उनले भने, ‘हामीले समाधिस्थल भत्काउनु भनेका थिएनौं । सशस्त्र प्रहरीले नै भत्काएका हुन्, छलफल गर्दैछौं ।’ समाधिस्थल भत्किएको घटनाले आफू दुःखी भएको बताउँदै उनले अब त्यही स्थानमा पितृको स्मृतिमा पितृस्तम्भ र पार्क निर्माण गर्न सकिने विकल्पका बारेमा छलफल भइरहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी बल २ नं। गण झापाका गणपति रमेशकुमार पाण्डेले किराँत समुदायको पवित्र एंवम् धार्मिक भावनासँग जोडिएको समाधिस्थल सशस्त्र प्रहरीले नभत्काएको दाबी गरेका छन् । ‘‘काँकडभिट्टामा बीओपी भाडामा बसिरहेका स्थानमा भ्यूटावर निर्माण हुने भएपछि दिगो व्यवस्थापनका लागि नगरपालिकासँग जग्गा मागेका थियौं’’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डे भन्छन्, ‘‘बीओपीका लागि मलामीघर प्रयोग गर्न नगरपालिकाले अनुमति दिएको थियो । मलामीघर वरपर सरसफाई गर्न नगरपालिका आफैले पठाएको र खटाएको डोजरले समाधिस्थल भत्काएको रहेछ । यसमा हाम्रो कुनै दोष छैन ।’’

खोलाखोल्सा र डाँडापाखामा पाल टाँगेर बस्दै आएको सशस्त्र प्रहरीले कहिले पनि समुदायको धार्मिक आस्थामाथि आघात पुर्‍याउने काम नगर्ने उनको भनाइ छ । रासस