काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन, खोप, भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार बूढानीलकण्डस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै सभापति देउवाले कोभिड संक्रमितलाई आवश्यक अस्पताल, आइसीयू बेड लगायतका स्वास्थ्य पूर्वाधार, आवश्यक औषधि लगायतका स्वास्थ्य सामग्रीको तत्काल समुचित व्यवस्था गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले संक्रमितको क्रन्टयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन आग्रह समेत गरेका छन् । सीमा नाकामा अनिवार्य पीसीआर परीक्षण गरिनु पर्ने र परीक्षणको नतिजा नआउञ्जेलसम्म होल्डिङ केन्द्रमा राख्ने व्यवस्था गर्न समेत उनले माग गरेका छन् ।

स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीको जोखिम भत्तालाई तत्काल कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्यकर्मी अभाव भएका अस्पतालमा स्वास्थ्यकर्मी उपलब्ध गराउनु पर्ने, कृषकका उपभोग्य सामग्री र आवतजावतलाई सहज गर्नुपर्ने लगायतका माग कांग्रेसले राखेको छ ।

३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या सहजै बढेको निष्कर्ष निकाल्न सकिने उनले बताए । संक्रमितको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्था रहेको भन्दै उनले अक्सिजन, आईसीयू र भेन्टिलेटरको टट्कारो अभाव देखिन थालेको बताए । यस्तो अवस्था आउनु सरकारको चरम लापरवाही, असंवेदनशीलता, अकर्मण्यता जिम्मेवार रहेको उनले बताए ।

‘यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ, न नेपाली कांग्रेस वा अन्य सरोकारवाला विज्ञले दिएका सुझावलाई आत्मसात गर्छ ।’ उनले भने, ‘अधुरा काम पूरा भएको भन्दै उद्घाटन, भीडभाड, तामझाम, तडकभडकमा मग्न सरकारले संक्रमण रोक्न कुनै काम नगरेकाले लकडाउनको स्थिति आएको हो ।’

कांग्रेसले कोरोना संक्रमण भई उपचारको पहुँचमा पुग्न समस्या परेकाहरुलाई हरसम्भव सहयोग गर्न आफ्ना नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।