देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीसाधनमुक्त क्षेत्र (भेहिकल फ्री जोन) बनाइएको छ । ठमेललाई व्यवस्थित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आइतबारदेखि सवारीसाधनमुक्त क्षेत्र बनाइएको हो ।
काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रलाई भेहिकल फ्री जोन बनाइएको हो । ठमेल क्षेत्रमा प्रवेश गर्ने सवारीसाधनलाई विभिन्न स्थानबाट सञ्चालनमा रोक लगाइएको हो ।
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार त्रिदेवी मार्गबाट ठमेलतर्फ आउने सवारीसाधनले मात्र प्रवेश पाउनेछन् भने अन्य मार्गबाट आउनेलाई प्रवेशमा रोक लगाइएको छ । ज्याठा र त्रिदेवी सडकखण्डलाई दुईतर्फी सञ्चालन गरिने भएको छ । क्षेत्रपाटीबाट जेपी मोड, ठँहिटी र ठमेल आउने सडकमा दुईपांग्रे सवारीसाधनलाई मात्रै दुईतर्फी सञ्चालन गर्न दिइनेछ ।


ADVERTISEMENT


ठमेलबाट बाहिर जाने सवारीसाधन सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवती बहाल, अमृतमार्ग, टँहिटीबाट दाहिनेतर्फ भने जान पाउनेछन् । ठमेल क्षेत्र भित्रको सडकमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नदिने र ट्राफिक संकेतको व्यवस्थापन गरी सवारी आवागमन अझ प्रभावकारी बनाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन्।
ठमेल महानगरपालिकाको वडा नम्बर १६, १७, २६ र २७ पर्छन् । झन्डै एक दशकअघि पनि ठमेललाई भेहिकल फ्री जोन बनाउन पहल गरे पनि महानगरपालिकाले सकेको थिएन । आइतबारदेखि सवारीमुक्त भनेर तोकिएको क्षेत्रमा अत्यावश्यक सवारीसाधनले मात्र प्रवेश पाउने महाशाखाका अपरेसन इन्चार्ज मधुसूदन सिलवालले भने, ‘पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायत अत्यावश्यक सवारीसाधनको प्रवेशमा रोक लगाइनेछैन बाँकी सबै सवारीलाई आजैदेखि प्रवेशमा रोक लगाएका छौं ।’
सबैलाई सूचना नभएको र अभ्यासको कमीका कारण बिहान उक्त क्षेत्रमा सवारीसाधन चले पनि मध्याह्न १२ बजेदेखि मात्र सवारीसाधन प्रवेशमा रोक लागेको थियो । सिलवालका अनुसार ट्राफिकले ठमेल क्षेत्रमा जथाभावी हुने पार्किङलाई पनि रोक्ने बताएको छ भने वन(वेमा पनि विशेष कडाइ गरिनेछ । जनचेतनाका लागि ट्राफिकले अहिले विभिन्न ठाउँमा ट्राफिक चिह्न राखिरहेको उनले जानकारी दिए ।
वडा नम्बर २६ का वडाध्यक्ष खेम तिवारीले ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र (वाकिङ स्ट्रिट) बनाउन नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम-दक्षिणका क्षेत्र समेटेर भेहिकल फ्री जोन घोषणा गरिएको जानकारी दिए । भेहिकल फ्री जोन घोषणा गरिए पनि आजसम्म ती क्षेत्रमा पार्किङको टुंगो लाग्न सकेको छैन । उनले भने, ‘पुरानो शिक्षा मन्त्रालय रहेको केशरमहलमा पार्किङ गर्न शिक्षा मन्त्रालय, समाजकल्याण परिषद्, छायादेवी कम्प्लेक्स र जेपी स्कुल (अन्डरग्राउन्ड पार्किङ भएकाले) लगायतसँग छलफल अघि बढेको र बढाउने तयारी भएको छ ।’
नेपाल होटल एसोसिएन का महासचिव विनायक शाहले सवारीसाधनमुक्त क्षेत्र सही भए पनि व्यवसायीको अर्बौंको लगानीमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सवारी प्रवेशका लागि मापदण्ड बनाएर कुन समयमा कस्ता सवारीलाई कति र कसरी प्रवेश गराउने निक्र्योल गर्नुपर्छ । पर्यटकलाई होटल पुग्न सहज होस् ।’ पर्यटन व्यवसायी सुमन पाण्डेले विमानस्थलदेखि ठमेल पुग्ने पर्यटकलाई ड्रप जोनको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए ।
पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले हाल होटल व्यवसायी र सवारीसाधन रोकिएका क्षेत्रको गुनासो पनि सरोकारवालाले सुन्नुपर्ने बताए । ठमेल पर्यटन विकास परिषद्का महासचिव भवी शर्माले होटल व्यवसायी र ड्रप जोनमा पर्ने असरबारे सरोकारवालासँग छलफल गरिने जानकारी दिए । उनले भने, ‘गुनासा पनि छन् तिनको समाधान गर्न भोलि कुन सवारीसाधनलाई के कस्ता पास कसरी दिने र ड्रप जोनलाई कसरी व्यवस्थित बनाउने टुंगो लगाउँछौं ।’
प्रवेश निषेध गरिएका क्षेत्रका पसल तथा होटलमा समान ओसारपसार गर्न ती सवारीसाधनलाई भने राति १० बजेदेखि बिहान ५ बजेसम्म चल्न दिइनेछ भने उक्त क्षेत्रभित्र घरधनीलाई सवारीसाधन लैजान पाउने गरी विशेष व्यवस्था गर्ने योजना ट्राफिकसँग छ । महानगरपालिकाले ठमेललाई ‘वाकिङ स्ट्रिट‘ बनाउन होटल मनाङदेखि काठमाडौं गेस्ट हाउससम्म साथै वैशाली होटलदेखि ठमेल मार्ग (भगवानपाउ मार्ग) सम्म सडक कालोपत्रे गर्दै छ । आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #