नेपाली सेनालाई अमेरिकाले उपहारस्वरूप उपलब्ध गराउन लागेको चार ‘स्काई ट्रक’ केही महिनाभित्रै नेपाल आइपुग्ने भएको छ । चारमध्ये दुई सन् २०१७ भित्र र अन्य दुई २०१८ को मध्यसम्म आइपुग्ने उच्च स्रोतले बताएको छ । उक्त ‘स्काई ट्रक’ नेपाल आएलगत्तै अमेरिकाले नेपालमा ग्राउन्डेड सोही कम्पनीको एक ‘स्काई ट्रक’ को मर्मतसमेत गरिदिने अधिकारीहरूले जनाए ।


ADVERTISEMENT


नेपाली सेनाका ‘पाइलट’ र ‘एरोनेटिक’ इन्जिनियरहरूलाई प्रशिक्षण दिएपछि उनीहरूसहितको टोलीले अमेरिकी बेसक्याम्प भएका मुलुकहरू हँुदै पुस अन्त्यसम्म स्काई ट्रक नेपाल भित्र्याउने छन् । लामो दूरी उडान गर्न नसक्ने भएकाले छोटो–छोटो दूरी उडाउँदै ल्याउने तयारी भएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले जनायो । स्काई ट्रक चीनको सांघाई हुँदै नेपाल ल्याउने गरी प्रक्रिया बढेको एक अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


अमेरिकाले स्काई ट्रकसहित शान्ति पुनस्स्थापनामा खटिने नेपाली सेनाका लागि आवश्यक ‘लजेस्टिक’ सहयोग र विपत व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गर्ने यसअघि नै जानकारी दिएको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्कीले संसदको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा समेत अमेरिकाबाट ‘स्काई ट्रक’ आउन लागेको जानकारी दिएका थिए । कार्कीले नेपाल–अमेरिका सम्बन्ध मजबुद हुँदै गएको र अमेरिकाले नेपाललाई चारवटा स्काई ट्रक अनुदानमा उपलब्ध गराउन लागेको बताएका थिए । दसैं लगतै तीन मुलुक (भारत, चीन र अमेरिका) का नेपाली राजदूतहरूले संसदीय समितिमा प्रस्तुति दिएका थिए ।

हाल अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्री फर्केपछि यसबारे सेनाको धारणा आउन सक्ने एक वरिष्ठ अधिकारीले बताए । विकासका लागि पनि अमेरिकाले हालै मात्र ५० अर्ब रुपैयाँ सहयोग सम्झौता गरेको छ । अमेरिकी फ्ल्यागसिप मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट उक्त सहयोग नेपालमा आउन लागेको हो । यसको औपचारिक सम्झौता वासिङटन डीसीस्थित विदेश मन्त्रालयमा भदौ अन्तिम साता भएको थियो ।

नेपाली सेनाले यस अलावा अन्य सात हवाई साधन थप्ने गरी प्रक्रिया बढाएको छ । ती हवाई साधन पनि सन् २०१८ को अन्त्यसम्म काठमाडौं आइपुग्ने सेनाको उच्च स्रोतले जानकारी दियो । सेनाले ६ हेलिकप्टर र एउटा जहाज खरिद गर्न लागेको हो । हाल सेनासँग १० वटा हवाई साधन चालु अवस्थामा छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन् । नचल्ने १२ हवाई साधन सेनाले बिक्रीमा राखेको छ । अन्य मर्मत हुनेछ ।

प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि खरिद तथा अनुदानमा हवाई सेनाले सातवटा हवाई साधन (हवाईजहाज र हेलिकप्टर) किन्ने भएको हो । यीमध्ये कतिपयको खरिद प्रक्रिया बढिसकेको छ । रुसमा निर्माण भएका दुई एमआई–१७ हेलिकप्टर, एक विशिष्ट खाले -भीआईपी हेलिकप्टर र एउटा जहाज (फिक्स्ड विङ) खरिद प्रक्रिया बढेको छ । अन्य तीन प्रकारका मध्यम १ र हल्का २० हेलिकप्टरका लागि पनि प्रक्रियागत काम भइरहेको नेपाली सेनाले जनाएको थियो । – आजको कान्तिपुरबाट