नेपाली बैंकिङ प्रणालीबाट ४५ करोड रुपैयाँ अवैध रूपमा विदेश ‘ट्रान्सफर’ भएको सूचना पाएपछि नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको छ।


ADVERTISEMENT


दुई वा तीन नेपाली बैंकबाट पछिल्ला केही दिनमा उक्त परिमाणको रकम अमेरिका र जापानका बैंकमा ट्रान्सफर भएको हो। स्रोतका अनुसार तीमध्ये एउटा नेपाली बैंकले यसरी रकम गएको थाहा पाएपछि राष्ट्र बैंकलाई सूचना दिएको थियो। लगतै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीसँग समन्वय गर्नुका साथै आन्तरिक रूपमा पनि छानबिन थालेको छ।


ADVERTISEMENT

# # #


नेपालबाट ट्रान्सफर भएको ४५ करोडमध्ये ५ करोड बराबर रकम उताको बैंकबाट कसैले झिकिसकेको राष्ट्र बैंक स्रोतले बतायो।

‘बाँकी ४० करोड रुपैयाँ भने हामीले सम्बन्धित बैंकहरूसँग समन्वय गरी तुरुन्तै रोक्का गरेका छौं,’ स्रोतले भन्यो, ‘त्यो रकम छिट्टै नेपाल फिर्ता हुनेछ। उता झिकिसकेको पैसा पनि कसको नाममा गएको छ खोजबिन हुँदैछ, ग्राहकहरूले आत्तिनुपर्ने अवस्था छैन।’

राष्ट्र बैंकले आफूसमेत सदस्य रहेको अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीका माध्यमबाट यो प्रकरणमा छानबिन थालेको स्रोतले बतायो। त्यही प्रणालीले नेपालबाट अवैध रूपमा गएको रकममध्ये ५ करोड झिक्ने व्यक्ति पत्ता लगाउने प्रयास गरिरहेको छ। छानबिनमा सहयोग गर्न सम्बन्धित अन्तर्राष्ट्रिय बैंकहरूलाई आग्रह गरिसकेको राष्ट्र बैंक स्रोतले बतायो।

धेरै नेपाली बैंकले विदेशबाट पैसा ल्याउँदा वा पठाउँदा अमेरिकाको न्यूयोर्कमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत् कारोबार गर्छन्। यो ४५ करोडमध्ये कतिपय रकम अमेरिकास्थित स्ट्यान्डर्ड चार्टर्डकै शाखामा गएको र यसले तुरुन्तै रोक्का गर्न सजिलो भएको स्रोतले बतायो।

‘नेपालबाट विदेशमा रकम ट्रान्सफर हुँदा न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड हुँदै अन्य सम्बन्धित बैंकमा जाने गर्छ, यो घटनामा भने स्ट्यान्डर्ड चार्टर्डकै विभिन्न शाखामा रकम गएकाले हामीलाई तुरुन्त रोक्का गर्न सजिलो भयो,’ स्रोतले भन्यो।

यति ठूलो परिमाणको रकम अवैध रूपले कसरी ट्रान्सफर भयो भन्नेबारे अहिले नै स्पष्ट भन्न नसकिने राष्ट्र बैंक अधिकारी बताउँछन्।

‘कसैले बैंक खाताको लग–इन र पासवर्ड ह्याक गरेर वा बैंक कर्मचारीकै मिलेमतोमा रकम पठाएका हुन सक्छन्,’ स्रोतले भन्यो, ‘विभिन्न खाताबाट थाहा नपाउने गरी अलिअलि रकम पठाउने वा बैंकको नगद मौज्दातबाटै ट्रान्सफर गरेका पनि हुन सक्छन्, यो छानबिनपछि मात्र यसै भन्न सकिन्छ।’

अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा कहिलेकाहीँ भूलवश, ह्याक गरेर वा कर्मचारीको मिलेमतोमा यसरी रकम ट्रान्सफर भएका उदाहरण छन्। यसलाई आपसी सहकार्यमा सच्याउने गरिँदै आएको छ। – आजको सेतोपाटीबाट