­दुर्गा देवकोटा, टीकापुर– जिल्लाकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा छिन् । जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिए पनि उनलाई अस्पतालसम्म कसरी जाने ? भन्ने चिन्ताले सताएको छ ।


ADVERTISEMENT


‘आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भन्नु भएको थियो । अस्पतालमा कोरोना सङ्क्रमणका धेरै बिरामी छन् । मलाई अस्पताल गए सङ्क्रमित भइन्छ कि भन्ने डर छ’, रमिला भन्छिन्, ‘घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने डर लागिरहेको छ ।’ आफू सुत्केरी हुने भन्दा पनि कोरोना सङ्क्रमण भइन्छ कि भन्ने चिन्ता लागेको उनी बताउँछिन् ।


ADVERTISEMENT

# # #


टीकापुरकै रुपनी शर्माको पनि सुत्केरी मिति नजिकिएको छ । दोस्रो बच्चा पाउने मिति आइसक्दा रुपनी पनि कसरी अस्पताल जाने ? भन्ने चिन्तामा छिन् । ‘‘पहिलो बच्चा शल्यक्रिया गरी निकालिएको हो । शल्यक्रिया गर्दा एक साता बढी अस्पताल बस्नु परेको थियो, यस पटक के हुने हो? भन्ने डर लागिरहेको छ’, आफ्नो डर खुलाउँदै उनले भनिन्, ‘‘पहिलो बच्चा पनि सानो छ । कोरोना भन्ने कस्तो रोग आयो? आफ्नै मान्छे पनि नजीक आउन डराउनु पर्ने, अस्पताल जान पनि डर लाग्ने ।’

यस्तै, कैलालीको जोशीपुरकी सन्ध्या विक पहिलो पटक गर्भवती भएकी छिन् । सन्ध्याका श्रीमान् स्वास्थ्यकर्मी हुन् । श्रीमान् दिनभरि कार्यालयमा काम गर्छन् । यसैकारण पनि सन्ध्यालाई तनाव बढेको छ । ‘‘गाउँमा ज्वरो आएका बिरामी बढेका छन् । म आठ महिनाकी गर्भवती छु । श्रीमान् बिरामीको उपचार गर्ने काम गर्नुहुन्छ । कुन दिन हामी पनि सङ्क्रमित हुन्छौँ भन्ने डरले सताएको छ’, उनले भनिन् ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीवरु्रपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनावमा देखिएका छन् ।

कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरु बढी नै चिन्तित बनेका हुन् ।

जिल्ला अस्पतालमा उपचारमा आउने तीन जना गर्भवतीलाई कोरोनाका लक्षण देखिएको छ । एक जना गर्भवती सङ्क्रमित भएर अस्पतालमै उपचार भइरहेको छ । गर्भ परीक्षण सेवा नियमित राखेको टीकापुर अस्पतालले यस साताबाट दुई साताका लागि बन्द गर्ने तयारी गरेको छ । ‘‘समुदायमा सङ्क्रमण फैलिएको छ । यस्तो बेला सुत्केरी र गर्भवती बढी सुरक्षित हुन आवश्यक छ’’, सिनियर स्टाफ नर्स कल्पना खड्का भन्छिन्, ‘‘सेवा नियमित भए पनि गर्भवतीहरु डरले अस्पताल आउन सक्नु भएको छैन । हामीले पनि दुई हप्ता गर्भ परीक्षण सेवा नगर्ने सल्लाह गरेका छौँ । सङ्क्रमण फैलिनबाट जोगिन यो आवश्यक छ ।’

अस्पतालले समस्यामा रहेका गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट परामर्श दिन थालेको छ । टीकापुर अस्पतालमा सातामा दुई दिन गर्भ परीक्षण सेवा दिइन्छ । सातामा ७० जनासम्म गर्भवती सेवा लिन आउने गरेको स्टाफ नर्स खड्काले बताइन् । ‘‘कुनै दिन त ३५ जनासम्म गर्भवती आउँथे, यो त जोखिम भयो भनेर हामीले फोनमै समस्या भए सोध्न भनेका छौँ’, उनी भन्छिन्, ‘‘यस्तो बेला खानपिनमा ध्यान दिने, घरमै रमाउने, तनाबबाट मुक्त भएर बस्नुपर्छ ।’

अस्पतालका स्त्री रोग विशेषज्ञ गौरी रिजाल अन्य नागरिकभन्दा गर्भवती तथा सुत्केरीको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले सर्तकता अपनाउन आवश्यक रहेको बताउँछिन् । ‘‘सङ्क्रमणको जोखिम पनि बढी हुन्छ, यस्तो बेला बालबालिका र आमालाई जोगाउन सचेतना अपनाउनु नै विकल्प हो’, अघि बोल्दै डा. रिजाल भन्छिन्, ‘‘सुत्केरी सेवा नियमित छ । सुत्केरी सेवा दिँदा स्वास्थ्यका मापदण्ड पूरा पालना गरिएका छन् । ब्यथा लागेमा अस्पताल आउनुहोला । घरमै सुत्केरी हुनु सुरक्षित होइन ।’

टीकापुर अस्पतालमा दैनिक चारदेखि छ जनासम्म महिलाले सुत्केरी सेवा लिने गरेका छन् । अस्पतालले अन्य सेवा बन्द गरे पनि सुत्केरी सेवा स्वास्थ्यका मापदण्ड पालना गरेर नियमित दिइरहेको छ । यहाँ टीकापुरका मात्र नभई कैलालीका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका महिलासमेत सेवा लिन आउने गरेका छन् । कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएपछि सुत्केरी व्यथा लागेका महिला अस्पतालसम्म सहजै आउन झन कठिनाइ भइरहेको बताउँछन् ।

हरेक पालिकामा रहेका स्वास्थ्य संस्थामा समेत सुत्केरी सेवा उपलब्ध भएपनि त्यहाँ शल्यक्रिया सेवा नभएका कारण अधिकांश महिला सेवा लिन यहाँ आउने गर्दछन् । रासस