काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तिन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


एसएसपी भट्टराईले भने, ‘महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरि विशेष टोली परिचालन गरेका छौ ।’ टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निग्रानीमा राखी नियन्त्रणमा लिने गरेको उनले जानकारी दिए

जस अनुसार कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेल पक्राउ गरेको महाशाखाले पुष्टी गरेको छ ।

काठमाण्डौंदेखि झापा, मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३-०१-००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई प्रहरीले वृत गौशाला र अन्य दुई जनालाई आवश्यक कारवाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यसरी महामारीमा सार्वजनिक सवारी संचालनमा पूर्ण रोक लगाएको भएता पनि विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी हिजो प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।