जलेश्वर– महोत्तरी जिल्लाको अन्धाअन्धी स्थानमा आज आमाको मुख हेर्ने दिनमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।


ADVERTISEMENT


आमा तथा बाबुको मुख हेर्ने दिनमा ठूलो मेला लाग्ने यसस्थानमा प्रत्येक वर्षझैं यसपाली पनि भक्तजनको घुइँचो लागेको हो ।


ADVERTISEMENT

# # #


वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो लागेको छ । धनुषा जिल्लासँग जोडिएको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुषहरु दर्शनका लागि आउने गरेको स्थानीयवासी नरेन्द्र यादवले बताए ।

आमा, बुवा नभएकाहरुले यस स्थानलाई आफ्ना आमाबुवाको सम्झनाको केन्द्र वनाउने गर्दछन् । आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको स्थानीयवासी राजाराम रायको भनाइ छ ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी आमाबुबालाई बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाँण लागी मृत्यु भएको र आफ्ना छोरा मरेको सुनेर आमाबुबा पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्बदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि वनाइएको थियो । सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्बद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीयको गुनासो रहेको छ । रासस