तनहुँ– भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लागेका छन् । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।


ADVERTISEMENT


शुरुमा करिब रु १५ लाखबाट व्यवसाय थालेका अधिकारीले अहिले करिब रु ७० लाख लगानी भइसकेको बताए । हाल उनका खोरमा ११७ वटा बाख्रा छन् । मिर्लुङ्ग बहुउद्देश्यीय कृषिफार्म प्रालि दर्ता गरी किसान अधिकारीले भैँसीपालन तथा तरकारी खेतीसमेत गर्ने योजना बनाएका छन् । बोर जातको उन्नत बोकाबाट स्थानीय जातको बाख्रामा क्रस गराएर ब्याडका रूपमा बोका उत्पादन गरी बिक्री गर्दै आएको उनी बताउँछन् ।


ADVERTISEMENT

# # #


पाठो पाएपछि कम्तीमा तीन महिनापछि प्रतिकिलो रु ८०० मा बिक्री गर्ने गरेको उनको भनाई छ । ब्याड बोकाको माग राम्रो रहेकाले पुर्‍याउन धौधौ हुने गरेको छ । ‘बोर जातको बाख्रा मासुका लागि छिटो बढ्ने हुँदा यसतर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ’,
उनले भने ।

स्थानीय जातको बाख्राको तुलनामा बोर जातको बाख्राको मासु दोब्बरले उत्पादन वृद्धि हुने हुँदा किसानले छोटो अवधिमा राम्रो मूल्य पाउन सक्नेछन् । शुरुशुरुमा प्रतिकिलो रु एक हजार १०० सम्म बिक्री गर्ने गरिए पनि अहिले रु आठ/नौ सयमा बिक्री गर्दै आएको किसान अधिकारीले बताए । तीन महिनाको पाठापाठी १५ किलोभन्दा माथिका हुन्छन् । दूध छुटेपछि पनि करिब २० दिन पालेपछि बिक्री गर्न लायकका हुन्छन् ।

शुरुमा बन्दीपु र, नुवाकोटबाट ब्याड बोका ल्याइए पनि अहिले आफैँले उत्पादन गरेको र रुकुम, स्याङ्जा, लमजुङ, चितवनलगायतका स्थानमा किसानले किनेर लैजाने गरेका छन् । बोर जातको बाख्रामा रोगसँग लड्न सक्ने क्षमता बढी हुने, पाल्न सजिलो हुने र छिटो वृद्धि हुने भएकाले किसानको यसतर्फ आर्कषण बढ्न थालेको हो ।

नेपालमा भन्दा बहराइनमा धेरै गुणा राम्रो आम्दानी रहे पनि स्वदेशमा बसेर स्वतन्त्र तरिकाले काम गर्ने चाहना भएकाले आफूले पशुपालन तथा कृषि पेशा अँगालेको उनले जनाए । आफ्नो र भाडामा गरी १२२ रोपनी क्षेत्रफलमा फार्म स्थापना गरिएको र करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाइएको किसान अधिकारीको भनाई छ । फार्ममा अधिकारी परिवारसहित अन्य तीन कामदारले काम गर्दै आएका छन् । रासस