बाजुरा– पर्वतारोहण गरी विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले यसपटक आम तथा विशेषगरी कोरोना संक्रमितलाई हौसला प्रदान गर्ने अर्काे सराहनीय कार्य गरेका छन् ।


ADVERTISEMENT


उनले कोरोनाबाट सञ्चो भएको दुई साता नपुग्दै सगरमाथा आरोहणको सफल आरोहण गर्दै आमव्यक्ति तथा कोरोना संक्रमितको मनोबल बढाउने कार्य गरेको हो ।


ADVERTISEMENT

# # #


कोरोनामुक्त भएको डेढ हप्तामै आरोही शेर्पा बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । र, बहराइन राजकुमारसहितको टोलीसँगै सफल आरोहण गर्ने आरोह गर्नेमध्ये उनी पनि एक हुन् । उनी गत वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा पुगेका थिए ।

काठमाडौंबाट सगरमाथा आरोहणका लागि बहराइन राजकुमारको टोलीसँगै २२ चैत २०७७ मा बेस क्याम्प प्रस्थान गरेका उनी बेस क्याम्पमै बिरामी परेका थिए । उनमा ज्वरो आउने, खोकी लाग्नेजस्ता समस्या देखिएपछि ७ वैशाखका दिन उनी हेलिकप्टरमार्फत काठमाडौँ फर्किएका थिए । कोरोना दोस्रो लहरका कारण अधिकांशमा संक्रमण देखिएको समय र उनमा पनि सोहि लक्षण देखिएका कारण उनको पिसिआर परीक्षण गराइएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आयो ।

कोरोना संक्रमणपछि ६ दिन अस्पताल र ६ दिन होम आइसोलेसनमा बसेका उनले आफ्नो आत्मबललाई भने डगमगाउन दिएका थिएनन् ।

जसकारण उनी कोरोनामुक्त भएलगत्तै वैशाख १९ गते पुनः बेसक्याम्पतिर लागिहाले । र, वैशाख २८ मा सफल आरोहण गरे । त्यसबेलाको आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘ कोरोना जितेर जानु धेरै जोखिम थियो, आत्मबल बलियो बनाएर गएको थिएँ । कुनै समस्या भएन । सगरमाथाको सफल आरोहण गरेर अहिले काठमाडौं फर्केको छु ।’

जाङ्ग्बु शेर्पा सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राख्ने कीर्तिमानी आरोही हुन् । यस्तै, उनले सन् २००३ देखि २०१९ को अवधिमा १६ पटक सगरमाथा आरोहण गरेका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत आरोही शेर्पाले कोरोना संक्रमितलाई आत्मबल ठुलो रहेको बताउँदै भनेका छन्, ‘कोरोना जित्न आत्मबल ठूलो कुरा हो, म कोरोना जितेलगत्तै सगरमाथाको चुचुरो पुगेर आएको छु । कोरोना संक्रमण भएँ भन्दै आत्मबल कमजोर नबनाउन सबैमा आग्रह गर्दछु ।’