नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालसंग गरिएको कुराकानी


ADVERTISEMENT


पहिलो चरण अन्तर्गत स्थानीय निर्वाचन सम्पन्न भएपछि दौडधूप कम भएको छ कि बढेको छ ?


ADVERTISEMENT

# # #


दौड धूप त सकिएको छैन । किनभने स्थानीय तहको निर्वाचन सकिए लगत्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको समय ताकियो र त्यसको समय पनि नजिकिँदै आइरहेको छ । निर्वाचनका लागि संगठनात्मक संरचना बनाउने, बैठक भेला गर्ने, उम्मेद्वरको नाम सिफारिस गर्दै चुनावको तयारीमा लाग्नु पर्ने भएकाले व्यस्तता अझ बढेको छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति पनि धेरै नजिक आइसकेको छ । मनोनयन पनि दर्ता भइसकेको छ । नेकपा एमालेको मोरङमा कस्तो तयारी हुँदैछ ?

देशका उच्च पहाडी र हिमाली २० जिल्लामा मंसिर ११ गते हुने निर्वाचनका लागि मनानयन दर्ता भइसकेको छ । मोरङमा दोस्रो चरणमा पर्ने भएकाले अहिले हामी मोरङमा एमाले मात्रैले एक्लै उम्मेद्वारी दिने कि भनेर हामी छलफल गरिरहेका छौँ । उम्मेद्वारहरुको नाम सिफारिस गर्ने, सम्भावित उम्मेद्वारहरुलाई पहिचान गर्ने, चुनाव प्रचारका अन्य गतिविधिहरु गर्ने लगायतका कामहरुमा जुटिरहेका छौँ । त्यही अवस्थामा देहभरी बामपन्थी पार्टीहरुको जुन गठबन्धन भयो त्यसका लागि नयाँ ढंगले तयारी गर्नु पर्ने अवस्था आएको छ । मोरङमा ६ वटा प्रतिनिधि सभाको सिट रहेको छ भने १२ वटा प्रदेशको सिट छ । ती सबै निर्वाचन क्षेत्रहरुमा चुनावी तालमेलको कुराहरु पनि स्थानीय र केन्द्रीय तहमा भइरहेको छ । कुन ठाउँमा कुन पार्टीले लिने भन्ने कुराको टंगामा पुगिसकेका छौँ । त्यसपछि चुनावको औपचारिक तयारी सुरु हुन्छ । ।

अहिले तपाई राजधानीतिरै हुनुहुन्छ । नेकपा एमालेले टिकट दिनका लागि के कस्ता मापदण्ड तयार पारेको छ ?

हाम्रो पार्टीले केन्द्रिय स्तरबाटै उम्मेद्वारको मापदण्ड पठाएको छ । त्यही अनुसार हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक र बढीमा तीन महिला पुरुषसहित नामावली सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले पनि आवश्यक गृह कार्य गरेर सुझावसहित पार्टीको प्रदेश कमिटीमा पठाएको छ । प्रदेश कमिटीले पनि आफ्नो रायसहित पार्टीको स्थायी कमिटीमा पठाएको छ ।

माओवादी केन्द्रसंग जुन रुपमा गठबन्धन भएको छ । त्यसको आधारमा उम्मेद्वारी समायोजन गर्न कत्तिको गाह्रो छ ?

स्वभाविक रुपमा गाह्रो पर्छ नै । किनभने नेकपा एमाले यतिधेरै बृहत पार्टी छ । यति धेरै नेता कार्यकर्ताहरु हुनुहुन्छ । मोरङमा पहिले ९ वटा निर्वाचन क्षेत्र थिए । अहिले ६ वटा भएका छन् । हामी आफ्नै पार्टीका नेता कार्यकर्ता बाट उम्मेद्वार छान्न गाह्रो थियो भने अहिले माओवादी संगको ४० प्रतिशत घट्दा सिट कम भयो र आकांक्षी धेरै भएकाले गाह्रो त अवश्य भएको छ । तर यो भनेको एउटा मिसन हो । त्यो के भने नेपालको राजनीतिलाई स्थायित्व दिने, स्थायी सरकार निर्माण गर्ने देशभक्त बाम शक्तिहरुलाई एकिकृत गर्दै एउटै पार्टी बनाउने र यो मुलूकका श्रमजिवी र विपन्न तथा सर्वहारा वर्गको हितलाई केन्द्रबिन्दूमा राखेर मुलूकलाई समृद्ध बनाउने अभियानको औपचारिक सुरुवात हो । त्यसले गर्दा यो महान अभियानलाई अगाडी बढाउनका लागि साह्रो गाह्रो जे भएपनि सबैलाई मिलाएर जाने अन्तिम चरणमा छौँ ।

एकाएक जुन रुपमा केन्द्रमा बाम गठबन्धन गरेर पार्टी एकतासम्म गर्ने भन्ने कुरा उठ्यो । त्यसलाई लिएर जिल्ला, गाउँ वा स्थानीय स्तरमा पुग्दा त्यहाँका नेता कार्यकर्ताहरुबाट के कस्ता प्रतिक्रियाहरु आएका छन् ? बाम गठबन्धनलाई कसरी बुझिएको छ त्यहाँ ?
राजनीतिक रुपमा उत्साह थपिएको छ । अब मुलूकमा दुईवटा ठूला कम्युनिस्ट पार्टीहरु एक भए । पहिलो संविधान सभाको निर्वाचनमा कम्यनिस्टहरुले भण्डै ७२ प्रतिशत पपुलर मत ल्याएका थिए । अहिलेको स्थानीय तहको निर्वाचनलाई हेर्दा पनि झण्डै ५५ प्रतिशत पपुलर मत बाम पन्थीहरुको छ । यसले के बुझिन्छ भने जनमत कम्युनिस्टहरुको पक्षमा धेरै देखिन्छ । तर एकताको अभावमा सधैँ शासन चाही अरुले गर्ने गरेका छन् । नेपाली जनतामा कम्युनिस्टहरुले सरकार चलाएको भए हुन्थ्यो भन्ने कामना थियो । त्यसले गर्दा जनता, कार्यकर्ताको स्तरमा यसले उत्साह ल्याएको छ । तर यो काम त्यती सजिलो छैन । चुनावसम्म तालमेलकै रुपमा अगाडी बढ्छ । त्यसपछि संगठन र पार्टीको सिद्धान्त र उद्देश्यलाई एक रुप दिनका लागि सैद्धान्तिक र वैचारिक बहस सुरु हुन्छ । यसले नेपालको राजनीति मात्र होइन दुनियाको राजनीतिलाई तरंगित बनाउँछ । यो अहिलेको अपरिहार्य आवश्यकता हो ।

यो एकताले अन्य साना पार्टीहरु विलय हुने अवस्था आउँछ । अब मुलूक दुई दलीय प्रणालीमा जाने देखियो । अमेरिका, बेलायत लगायतका ठूला लोकतान्त्रिक प्रजातान्त्रिक मुलूकमा दुई दलीय व्यवस्था नै छ । यो एकताले देशी विदेशी शक्तिहरु डराएका छन् जुन हामीले अहिलेको राजनीतिक घटनाक्रमले देखिन्छ । निर्वाचनको मिति तोकिएको छ । मनोनयनका दिन सरकार फेलबदल हुन्छ । यो त डराएको हो नि ? यसका बाबजुत पनि यो आवश्यक छ र पूरा भएरै छाड्छ । यसले मुलूकलाई एउटा नयाँ दिशामा लैजान्छ ।

चुनावकै मुखमा अहिले जुन रुपमा गठबन्धन पछि कम्युनिस्ट पार्टी एकता भन्ने नाम दिइएको छ । यस्ता त विगतमा पनि भएका थिए । सिमित स्वार्थका लागि हुन्छन् र त्यो पूरा भइसकेपछि पूरानै अवस्थामा आउँछन् । यो पनि निर्वाचन आफ्नो पक्षमा ल्याएर पछि सत्तामा पुग्ने खेल हो भन्न थालिएको छ । यसको दिर्घकालीन रुपमा एकता हुन्छ भनेर जनतालाई कसरी विश्वस्त तुल्याउने ?

यसलाई एजेण्डामा हेरौँ । आजसम्म हाम्रो मलूकमा राजनीतिक पार्टीहरुको बीचमा जतिपनि सहकार्यहरु भए र तोडिए पनि । सहकार्य केका लागि भए भन्दा राजनीतिक आन्दोलनहरुमा सहकार्य भए । परिवर्तन भयो पार्टीहरु फेरि आ–आफ्नो बाटोमा लागे । ४६ सालको आन्दालनमा कांग्रेस र बामपन्थीको गठबन्धन वा सहकार्य भयो । संयुक्त संघर्ष भयो । पञ्चायत फालियो र त्यसपछि बहुदलीय राजनीतिक प्रणालीमा पार्टीहरुले आफ्ना अभ्यास गरे । फेरि तत्कालीन राजा ज्ञानेन्द्रले कू गर्ने स्थिति भयो । मुलूकमा फेरि निरंकुश शासन आयो र त्ययसका विरुद्ध फेरि राजनीतिक पार्टीहरु एकमत भए । त्यस पछि नयाँ राजनीतिक प्रणालीकाट प्रतिस्पर्धा गरेर अगाडी बढे । मुलूकमा संविधान निर्माण गर्नुपर्ने बेला आयो । पार्टीहरु फेरि एक भए र संविधान जारी भयो । अहिले संविधान कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको छ ।

अब स्थायी राजनीति र सरकारका लागि, मुलूकको समृद्धिका लागि एउटै पार्टीको बहुमत आउने गरी एक भएर जाने भन्ने कुरा हो । अब सबैको एजेण्डा एउटै भएको छ । त्यो हो आर्थिक समृद्धि । यसलाई पूरा गर्नका लागि जनतामाझ एक भएर जाने हो । अब माओवादी र हाम्रो संयुक्त घोषणापत्र बन्दैछ । त्यसका लागि संयुक्त उम्मेद्वारी हुन्छ । ती घोषणा वा प्रतिवद्धता पूरा गर्नका लागि संयुक्त सरकारको निर्माण हुन्छ । त्यसपछि एउटै पार्टी बन्छ । यसमा आशंका गरिराख्नु पर्ने स्थिथि नबन्ला भन्ने लाग्छ ।

माओवादी संग जुन हिसाबले ६०/४० को भागबण्डा भएको छ । त्यसबाट एमालेलाई घाटा भएको हो कि ? कि त मुलूकको ठूलो पार्टी भइहाल्छौँ भनेर सन्तष्ट नै हुनुहुन्छ ?

यसमा पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलूकको हितलाई ध्यानमा राखी गरिएको गठबन्धन हो । दुई/चार सिट घाटा नाफा कसैलाई होला तर यसलाई व्यापार जस्तो नहेरी मुलूकको हित, वर्तमान परिस्थितिलाई हेर्नु पर्छ । संसद् विघटन भइसकेपछि आज पनि नेकपा एमाले प्रमुख पार्टीका रुपमा छ नि । विचार, सिद्धान्त मिल्ने सबैलाई एकजुट पार्ने दायित्व पनि ठुलैको हुन्छ नि । त्यस कारण यो अहिले नाफा नहेरिकन राष्ट्रिय आवश्यकताका रुपमा लिनु पर्छ । यो गठबन्धनलाई हामीले दरिलो गरेर चुनावमा गयौँ भने दुई तिहाई बहुमतका साथ सातवटै प्रदेशका सरकारसहित यसले मुलूकको नेतृत्व गर्छ ।

देशका दुई ठूला शक्ति एक भएर अब देशको समृद्धिका लागि अगाडी बढ्छौँ भनिरहँदा यसको सैद्धान्तिक वा व्यावहारिक मार्गचित्र त स्पष्ट भएको छैन नि ?

अब हाम्रो चाँडै नै संयुक्त घोषणा पत्र आउँदैछ । यस अघि स्थानीय निर्वाचनको घोषणा पत्र पनि यहाँले हेर्न सक्नुहुन्छ । अझ धेरै पर जानै पर्दैन । केपी ओलीको नेतृत्वमा बनेको सरकारका नीति कार्यक्रम पनि हेर्नुस् । त्यसैले यो मुलूकलाई नेकपा एमालेले कसरी अगाडी बढाउन चाहान्छ, कसरी समृद्ध बनाउन चाहान्छ ? भन्ने धेरै कुरा बाहिर आइसकेका छन् । त्यसका लागि हामी संयुक्त घोषणापत्र ल्याउँदै छौँ । यसले धेरै कुराको सम्बोधन गर्छ ।

मुलूकमा संक्रमणकालको अन्त्य भइसकेको छैन । यद्दपी संविधान कार्यान्वयनको चरणमा छ तर पनि निर्वाचन पछि देश समृद्धि हुने निश्चितता छैन । तिनै तहको निर्वाचन पछि देशमा स्थायी सरकार आइसकेपछि समृद्धिको दिशातिर मुलूक अगाडी जान्छ भनेर जनतालाई कसरी विश्वस्त तुल्याउनुहुन्छ ?

शंका त अहिले पनि छ । चुनावको मिति तोकिसकिएको छ । मनोनयन पनि भइसक्यो तर सरकारमा बिना विभागीय मन्त्री बनाउँदै मन्त्रीमण्डल विस्तार भइरहेको छ । निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भइरहेको छ । अहिले पनि निर्वाचन हुने नहुनेमा जनतामा आशंका कायमै छ । विदेशी शक्तिहरु यो गठबन्धनले कांग्रेस हार्छ, हार्ने चुनाव किन गराउने भनेु निर्वाचन बिथोल्न लागिपरेका छन् भन्ने हल्ला छ । तर हल्लाका पछि लाग्नु हुँदैन । स्थानीय निर्वाचनको बेला पनि मनोनउन हुँने दिनसम्म पनि निर्वाचन हुँदैन भन्ने हल्ला थियो तर चुनाव भएरै छाड्यो नि त । त्यस कारण निर्वाचन अब सर्न सक्दैन । यो सरकारले निर्वाचन सारेर भाग्ने कोसिस गर्यो भने कांग्रेसको यो मुलूकमा बेहाल हुन्छ । त्यस कारण चुनावको तयारीमा सिङ्गो मुलूक लागेको छ ।