चुनावी एजेन्डा र घोषणापत्रविनै मुख्य दलहरू चुनाव प्रचारप्रसारमा होमिएका छन् । प्रचारमा गइसकेका दलहरूले घोषणापत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेको कांग्रेसले उम्मेदवारी घोषणासँगै धेरै जिल्लामा प्रचारप्रसार सुरु गरिसकेको छ ।
पार्टी नेता गगन थापाले पहिलो र दोस्रो चरणको निर्वाचनका प्रचार प्रसारका लागि बालकृष्ण खाँडको संयोजकत्वमा निर्वाचन प्रसारप्रसार समिति गठन गरिएको र शीर्ष नेताहरू खटिने स्थानका विषयमा छिट्टै निर्णय हुने जानकारी दिए । घोषणापत्रको मस्यौदालाई मंगलबार पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेतासँग छलफल गरी स्वीकृत गरेका छन । ‘तीन दिनभित्रै पार्टीले घोषणापत्र सार्वजनिक गर्नेछ’, थापाले भने ।
निर्वाचनमा दलहरूसँग तालमेल गरिए पनि कांग्रेसको एकल घोषणापत्र हुने नेता खाँड बताउँछन् । तर, निर्वाचन प्रसारप्रसार भने संयुक्त रूपमा गर्ने गरी कार्यक्रम तय गरिने उनले जनाए । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट गरेपछि औपचारिक रूपमा निर्वाचन प्रसारप्रसार सुरु हुने कांग्रेसले जनाएको छ ।


ADVERTISEMENT


दोस्रो चरणको उम्मेदवार छनोटका लागि कांग्रेसले बुधबार संसदीय बोर्डको बैठक डाकेको छ । माओवादीसँग चुनावी तालमेल गरेको एमालेले पनि चुनाव प्रचारप्रसारलाई तीव्र पारेको छ । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो ढंगले जिल्लामा चुनावी कार्यक्रम सुरु गरिसकेको बताए । एमाले-माओवादीले कात्तिक १० मा संयुक्त घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् ।
दोस्रो चरण अर्थात् मंसिर २१ को निर्वाचनका लागि उम्मेदवार छनोट कार्य भइरहेको र घोषणापत्र सार्वजनिक भएपछि औपचारिक रूपमा चुनावी अभियान सुरु हुने एमाले प्रचार विभाग प्रमुख ज्ञवालीले बताए । उनका अनुसार संयुक्त रूपमा जिल्ला-जिल्लामा चुनावी कार्यक्रम गरिनेछ । पार्टी अध्यक्ष केपी ओली तथा पुष्पकमल दाहाल भने संयुक्त रूपमा चुनावी सभामा सहभागी हुनेछन् ।
अध्यक्ष ओलीले ताप्लेजुङदेखि दार्जुलासम्मको चुनावी अभियानमा सहभागिता जनाउनेछन् । ‘दाहाल पनि महत्वपूर्ण चुनावी सभामा ओलीसँगै जानुहुनेछ’, ज्ञवालीले भने ।
प्रत्यक्षतर्फ कात्तिक ५ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ८ मा निर्वाचन चिह्न प्रदान गरिनेछ ।
मंसिर २१ मा हुने निर्वाचनका लागि कात्तिक १६ मा उम्मेदवारी मनोयनको कार्यक्रम छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि ३२ वटै जिल्लामा एकल रुपमा चुनावी अभियान सुरु भइसकेको जानकारी दिइन् । ‘दोस्रो चरणको उम्मेदवार छनोट टुंग्याएपछि मात्रै संयुक्त रूपमा चुनावी अभियान सुरु हुनेछ’, उनले भनिन् ।
संघीय समाजवादीसँग चुनावी तालमेल गरेको राष्ट्रिय जनता पार्टी नेपालले पनि चुनावी अभियान सुरु गरेको छ । राजपाका नेता लक्ष्मणलाल कर्णले पहिलो चरणको निर्वाचनका लागि आ-आफ्नो जिल्लामा चुनावी अभियान सुरु गरिसकेका बताए ।
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट भएपछि केन्द्रीय नेता पहिलो चरणको निर्वाचनको चुनावी प्रचारप्रसारमा सहभागी हुने उनी बताउँछन् ।
पहिलो चरणको निर्वाचनमा भने राजपाका केन्द्रीय नेताले उम्मेदवारी दिएका छैनन् । राजपाले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छैन । चार÷पाँच दिनभित्रै घोषणापत्र जारी हुने नेता कर्ण बताउँछन् ।
यता, समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि असोज २९ मा उम्मेदवारको बन्दसूची पेस गरेका दलले सूचीलाई पूर्णता दिने काम गरिरहेका छन् ।
समानुपातिक उम्मेदवारको कात्तिक १७ मा अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भएकाले दलहरू बन्दसूची सच्याउन व्यस्त छन् ।
बन्दसूचीमा जातजातिको प्रतिशत तथा अन्य प्रक्रिया नमिलेको भन्दै आयोगले अधिकांश दललाई सञ्चाएर पेस गर्न पत्र काटेको छ । पहिलो चरणको निर्वाचनमा ३४ दल प्रत्यक्षतर्फ निर्वाचन लड्दै छन् । पहिलो चरणका लागि प्रतिनिधिसभा र प्रदेशसभामा ८ सय ३ जनाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ भने जम्मा ४९ दल सहभागी हुँदै छन् । – आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #