सिन्धुपाल्चोक– कोरोना सङ्क्रमित बढ्दै गएको र अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले तत्कालका लागि १३७ सिलिण्डर अक्सिजन भरेर सबै आइसोलेशनमा पठाउने भएको छ ।


ADVERTISEMENT


सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यहाँका लागि अक्सिजन उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


आइसोलेशनमा अक्सिजन अभाव भएको र तीन दिन लाइन बस्दा पनि सहजरूपमा अक्सिजन उपलब्ध नभएपछि पत्रकार महासङ्घले ढकालसँग समन्वय गरी एकैपटक ठूलो सङ्ख्यामा सिलिण्डर भरेर प्रदान गर्न लागिएको हो । छिमेकी जिल्लामा अक्सिजन भर्न समस्या भएपछि यसअघि यहाँ प्रमुख जिल्ला अधिकारी भएर बसेको र हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालको समन्वयमा अक्सिजन भर्न लागिएको पत्रकार महासङ्घका उपाध्यक्ष दिनेश थापाले जानकारी दिएका छन् ।

कोरोना महामारी बढेपछि नेपाल पत्रकार महासङ्घले कोभिड–१९ राहत कोष स्थापना गरेको थियोे । त्यही कोषबाट हाल १३७ सिलिण्डर अक्सिजन भरेर जिल्ला ल्याउन लागिएको उपाध्यक्ष थापाले जानकारी दिए । महासङ्घले स्थापना गरेको कोषमा हालसम्म रु १३ लाख सङ्कलन भएको छ । जिल्लामा अक्सिजन अभाव भएको थाहा पाएपछि आफूले समन्वय गरेर सुनसरीबाट अक्सिजन भरेर पठाउन लागिएको सुनसरीका प्रजिअ ढकालले बताए ।

अब यो सिलिण्डर सिन्धुपाल्चोकमा आएपछि कम्तीमा १० दिनका लागि अक्सिजन समस्या नहुने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा दत्त चापागाईँले जनाए । महासङ्घले स्थापना गरेको कोषबाट आइसोलेशनमा रहेका बिरामीलाई अन्य स्वास्थ्य सामग्री र पोषिलो खानेकुरासमेत उपलब्ध गराइने महासङ्घका उपाध्यक्ष थापाको भनाई छ । रासस