भीष्मराज ओझा – नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तालिकाको मिति नजिकिएसँगै क्रियाशील सदस्यताको कामलाई तीव्रता दिएको छ । कांग्रेसले हालसम्म ६१ जिल्लाका १०१ स्थानका क्रियाशील सदस्यता पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ ।


ADVERTISEMENT


पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले गत वैशाख ३० गते ४५ जिल्लाका ८० स्थान र यही जेठ १५ गते १६ जिल्लाका २१ गरी १०१ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिसकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउनका लागि निर्देशन दिइएको समितिका सचिव केशव रिजालले जानकारी दिए । उक्त १०१ स्थानका लागि नामावली ‘इन्ट्री’ गर्ने सफट्वेयर बन्द गरिएको छ ।


ADVERTISEMENT

# # #


देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा ‘इन्ट्री’ भइरहेको कुल २०७ स्थानमध्ये बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली ‘इन्ट्री’ गर्न यही जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको सचिव रिजालले जानकारी दिए ।

केन्द्रबाट क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिएका १०१ स्थानले तत्कालै र बाँकी १०६ स्थानले पनि यथाशीघ्र छिटो क्रियाशील सदस्यताका अन्य आवश्यक विवरण र शुल्क तत्काल केन्द्रमा पठाउन पार्टी कार्यालयले निर्देशन दिएको छ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा पार्टीका जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण दुवै, बाँकी ४२ जिल्लामा जिल्ला समितिले नवीकरण तथा ४२ जिल्लाअन्तर्गतका १३० प्रतिनिधिसभा निर्वाचनका क्षेत्रीय समितिले नयाँ क्रियाशील सदस्यताको काम गरिरहेको कांग्रेसले जनाएको छ ।

सात लाख ६१ हजार ८२ सदस्यता ‘इन्ट्री’

आइतबार साँझ ७ बजेसम्म वेबसाइटमा नयाँ तीन लाख ९३ हजार ८३५ र नवीकरण तीन लाख ६७ हजार २४७ गरी जम्मा सात लाख ६१ हजार ८२ क्रियाशील सदस्यता पार्टीको वेभसाइटमा ‘इन्ट्री’ भइसकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुुलीले जानकारी दिए । उनका अनुसार अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने यसमा समावेश गरिएको छैन् ।

पार्टीको १३औँ महाधिवेशनमा १८ जनसम्पर्क समितिले भाग लिएको र ती जनसम्पर्क समितिमा करीब २५ हजार क्रियाशील सदस्यता रहेको थियो । हाल काँग्रेसका जनसम्पर्क समितिको सङ्ख्या विस्तार भई ३६ पुगेको छ । पार्टीको १४ औँ महाधिवशन तालिकासम्म क्रियाशील सदस्यको सङ्ख्या नौ लाख हाराहारी पुग्ने सचिव पराजुलीले अनुमान गरे । क्रियाशील सदस्यताको काम गरिरहेका कुल २०७ स्थानमध्ये विवाद र कोभिड–१९का कारण १५ स्थानबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन नसकेको उनले बताए । । त्यस्तै सिन्धुपाल्चोकको पूरै र बारा तथा सप्तरीमा पनि केही स्थानमा विवादका कारण क्रियाशील सदस्यताको काम हुन सकेको छैन् ।

कांग्रेसले १३औँ महाधिवेशनमा चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म सो सङ्ख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको थियो । क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन यस महाधिवेशनदेखि सबै जिल्ला कार्यसमितिलाई पार्टीको वेबसाइटमा अपलोड गर्ने व्यवस्था गरिएको छ । पार्टीको नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० र नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३००रहेको छ ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ/नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । रासस