चितवन– अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।


ADVERTISEMENT


चितवन मेडिकल कलेजको आइसियु (सघन उपाचार कक्ष) मा नेगेटिभ सेक्सन जडान गरिएको हो ।


ADVERTISEMENT

# # #


कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरीशचन्द्र न्यौपानेका अनुसार सङ्क्रामक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ । सो उपकरणले बिरामीबाट निस्किएको कीटाणुसहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्दछ । बाहिरबाट स्वच्छ हावाभित्र पठाउँछ । न्यौपाने भन्छन्, ‘यसबाट बिरामी र स्वास्थ्यकर्मी दुवै जोगिन्छन् ।’

चीनमा कोरोना देखिएसँगै मेडिकल कलेजले सो उपकरण जडान गरेको हो । उनका अनुसार, १९ शय्याको सो सघन उपचार कक्षमा कोरोना सङ्क्रमितलाई राखेर उपचार गरिँदै आएको छ । सो कक्षमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित हुने उनको भनाइ छ । न्यौपानेका अनुसार, यसका अतिरिक्त अन्य सरुवा रोगमा पनि बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुनेछन् । एउटै सघन उपचार कक्षमा फरकफरक रोगका बिरामी उपचार गर्नुपर्दा यो निकै उपयोगी हुने बताइन्छ । उन्नाइस वटा नेगेटिभ सेक्सन जडान गर्दा रु १९ करोडभन्दा बढी लगाानी भएको उनले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विश्वका विकसित मुलुकमा यस्ता उपकरण राख्ने गरिएको बताउँदै उनले भने, ‘यसले हावा र थुकका छिटाहरुबाट सर्ने रोगबाट अन्य बिरामी र स्वास्थ्यकर्मीलाई जोगाउँछ ।’ त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले सामान्य सावधानी अपनाए पुग्छ । बिरामीहरुले मास्क लगाउनु पर्दैन । यस्ता प्रविधि जिल्लामा हुँदा सरुवा रोगको महामारीको समयमा निकै उपयोगी हुने तिवारीको भनाइ छ । इन्फ्लुएन्जा, क्षयरोग, सार्स, दादुराजस्ता सङ्क्रामक रोगबाट यसले बचाउने उनले जनाए ।

एयरटेक प्रालिका प्रबन्ध निर्देशक मनोज भन्सालीका अनुसार, नेपालमा यो उपकरण जडान गर्दै आएको ठूला अस्पतालमा यस्ता उपकरण जडान हुन थालेका छन् । यसले रोग सर्न नदिने हुँदा बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले कोरोनाको समयमा यो निकै उपयोगी रहेको उनको दाबी छ । रासस