काठमाण्डौं- यस वर्षको छठका लागि जनकपुरमा केरा बिक्री बढेको छ । छठको प्रसादमा केरा अनिवार्य हुने चलनले यसको बिक्री बढेको हो । यस वर्ष छठ पर्वका लागि जनकपुर जिरोमाइलस्थित फलफूल व्यवसायी संघको २२ स्टलबाट २ करोडभन्दा बढीको केरा बिकेको छ । संघको स्टलबाट भारतबाट ल्याइएका ४४ ट्रक केरा बिक्री भएको हो । जनकपुर फलफूल व्यवसायीले स्थानीय बजारमा केराको बढ्दो मागअनुसार भारतबाट ल्याएर व्यवस्थापन गर्दै आएको महासचिव भुपनेश्वर पुर्वेले बताए ।


ADVERTISEMENT


नेपाली किसानको केरा सस्तो भए पनि बजारसम्म थोक ल्याउन समस्या भएका कारण भारतको असाम, मद्रास, नौगछिया र हाजिपुरबाट केरा ल्याएर बिक्री गर्ने गरिएको पुर्वेले बताए । संघको स्टलमा छठका लागि एक सातादेखि केरा बिक्री भइरहेको छ । ‘यहाँ १ सयदेखि ६ सयसम्म केराको घरी उपलब्ध छ ।


ADVERTISEMENT

# # #


बर्सेनि केरा बेच्ने भएकाले खुद्रा र थोक केरा खरिद गर्ने संघकै स्टमा आउँछन्,’ उनले भने । छठ पर्वको प्रसादमा अनिर्वाय प्रयोग हुने फलफूलमध्ये केराको माग पछिल्लो समय बढदो छ ।

जनकपुरमा १५ वर्षदेखि फलफूल व्यवसाय गर्ने धनेश्वर साहका अनुसार बर्सेनि छठ पर्वमा केराको माग बढदो छ । ‘माग बढदो छ तर स्थानीय बजारमा केरा उपलब्ध नहुँदा भारतका बर्सेनि आयात बढेको छ,’ साहले भने, ‘नेपालमै केरा खेती बढाउनुपर्ने देखिन्छ ।’ जनकपुरबाट छठका लागि सिरहा, महोत्तरी र सर्लाहीसम्मका ग्राहकले किन्ने गरेका छन् । – आजको कान्तिपुरबाट