प्रकाश सिलवाल, काठमाडौैँ– दिएर खाएर त कसलाई पो पुग्ला र ! तर आपत्–विपद्का बेला सहयोगी मनहरुको साथ पाउँदा दिने पाउने दुवैलाई राहतको अनुभव हुँदो रहेछ । गत वर्षको बन्दाबन्दीमा काठमाडौँ उपत्यकाका विभिन्न ज्याला मजदूरी गर्नेहरुलाई करीब ३५ लाख बराबरको राहत वितरण गरेका एक पाइलटको पहलमा यस वर्ष पनि सहयोगको क्रम जारी रहेको छ ।


ADVERTISEMENT


यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठ र उनकी श्रीमती लीला मास्केको पहलमा तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधबार राहत वितरण गरिएको छ । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण स्थानीय सरकारले स्रोत साधनले समेत नभ्याएको स्थितिमा यस्ता सहयोग केही समयका लागि साँच्चिकै राहत हुने गरेका छन् । सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको थियो । सो मानवीय कार्यका लागि मोरङको जनता माध्यमिक विद्यालय, विराटनगरको ४३ औँ समूहका सहपाठी पोखरा निवासी वसुधा गुरुङ, संयुक्त राज्य बेलायत निवासी मधु गुरुङ, कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतको सहयोग रहेको छ । उक्त सङ्ख्यामा राहत वितरण गर्दा करीब रु तिन लाख खर्च भएको श्रेष्ठले बताए । विमानहरु नचलेका बेला घरमै आनन्दले बस्न पनि सकिन्थ्यो होला तर दिनदुःखीलाई सम्झिएर ती मनकारी पाइलटलाई सायद निद्रा लाग्दैन ।


ADVERTISEMENT

# # #


सो गाउँमा खानेकुरा अभाव भएपछि कोही जङ्गलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार समाचार प्रकाशन भएको थियो । समाचार पढेर श्रेष्ठको मन पग्लियो । अनि सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि आफै गाडीको प्रबन्ध गरेर निषेधाज्ञाकै बीचमा हिडे । विमान चालकको पास देखाएपछि र राहतको सामान देखेपछि आफूलाई सुरक्षाकर्मी र स्थानीय सरकारले सहजता गरिदने गरेको क्याप्टेन श्रेष्ठले जनाए । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखदेखि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेका थिए ।

श्रेष्ठले काठमाडौँ महानगरपालिका–३० को रातोपुलमा स्थापना भएको सुविधा सम्पन्न आइशोलेसन सेन्टरलाई गत महिना रु एक लाख हस्तान्तरण गरेका थिए । काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोला निवासी श्रेष्ठको निवास नजिकको श्रीसागर खाद्य स्टोरबाट दैनिक ३०/४० जना मजदूर र विपन्नलाई राहत वितरण भइरहेको छ । आज बिहान पनि ललितपुरको च्यासलदेखि हिँडेर आएका सात महिला र सुकुम्बासी टोलका चार तथा सुत्केरीसहित गरी २५ जना परिवारलाई उनले राहत बाढेका छन् । च्यासलबाट राहत बाँड्न थालेपछि बाटोमा हिँड्ने ज्याला मजदुरहरु पनि लाइन लाग्न आउने हुँदा उनीहरुलाई पनि श्रेष्ठले खाली हात पार्दैनन् । गत वर्ष ग्याँस अभाव वा काठाडौँबाट गाउँ घर जान खर्च नपाएकाहरुलाई उहाँले कोभिडको जोखिम मोलेर ठाउँ ठाउँमा आफै पुगेर नगदै पनि दिएका थिए ।

गत वर्ष काठमाडौँका थानकोट, बालाजु, जोरपाटी, भक्तपुरको सूर्यविनायक र ललितपुरका गोदावरीसम्मका विभिन्न स्थानमा आफैले गाडीमा राखेर सामान बाँडेको उनको टोलीले यस पटक उक्त मूदरुपमा स्टोरबाट र बढी नै आवश्यकता भएका ठाउँमा आफै पुगेर सामान उपलब्ध गराइदिने गरेका छन् । गत वर्षको बन्दाबन्दीको समयमा श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुर, एकल महिला, खुद्रा पसल चलाउनेहरु, अपाङ्गता भएका र विपन्नलाई पटक पटक गरी करीब रु ३५ लाख बराबरको राहत वितरण भएको थियो ।

शुरुमा क्याप्टेनहरु रमोद श्रेष्ठ र गौरव बोहराको हौसाबाट उनले यो अभियान थालनी गरेका थिए । श्रेष्ठले गोरखा भूकम्पका बेला काभ्रेपलाञ्चोकमा पाँच लाख बराबरको सहयोग गरेका थिए । रासस