काठमाण्डौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा हुने निर्वाचनका लागि बिहीबार ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । दोस्रो चरणको निर्वाचनमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाताले मताधिकार प्रयोग गर्ने छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरूप ती कार्यालय स्थापना गरेको हो । आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) का अनुसार सबै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापनाकै दिनबाट पूर्ण रूपमा सञ्चालनमा छन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुनेछ ।


ADVERTISEMENT

# # #


दोस्रो चरणका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने प्रतिनिधिसभा र सबै प्रदेशसभाका लागि दलहरूले यसअघि नै निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । पहिलो चरणमा हिमाली क्षेत्रमा पर्ने ३२ जिल्लामा (प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि) मंसिर १० मा हुने निर्वाचनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ । – आजको कान्तिपुरबाट